किराँत समुदायले मनाए उधौली पर्व

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज किराँत समुदायले प्रकृतिको सम्मानका रूपमा उधौली पर्व मनाएका छन्।

किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली साकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा उधौली धुमधामसँग मनाएका छन्।

ललितपुरको सानो हात्तीवनमा भेला भएर किराँती पुर्खा/धामीहरूले प्रकृतिको पूजा आराधना गरी उधौली चाडको सुरुवात गरेका हुन्।

लिम्बूले चासोक तङ्नाम पर्व तीन दिनअघि नै मनाउन सुरु गरेकोमा आज संयुक्तरूपमा किराँत समुदायका सबै समुदायले उधौली साकेला अर्थात् उधौली पर्व मनाएका हुन्।

किराँत समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली साकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा मनाउने गर्दछन्।

सोही अवसरमा ललितपुरको नखिपोटमा सामूहिक रुपमा साकेला नाचेर उधौली मनाइएको छ।