नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपतिको कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

यसअघि राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा कुमार इङ्नाम, राजेन्द्रसिंह भण्डारी, माधव चौलागाईं र श्रद्धा श्रेष्ठलाई मन्त्री नियुक्त गरेका थिए।

इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, चौलागाईंलाई वन तथा वातावरण र श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ। चार मन्त्री थपिएसँगै १४ सदस्यीय मन्त्रिपरिषद् बनेको छ ।