के आज कांग्रेस फुटको संघारबाट जोगिने अवस्था छ ?

नेपाली कांग्रेसको विशेष महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदैछ । के आज कांग्रेस फुटको संघारबाट जोगिने अवस्था छ ? यस प्रश्नको जवाफ आज हुने बार्ताले दिनेछ। यसअघि सोमबार दिउँसो नेता शेखर कोइरालाले महामन्त्री विश्वप्रकाश शर्मासँग छलफल गरेर दुई समूहबीच छलफलको वार्ताको वातावरण बनाउन समिति बनाउने प्रस्ताव गरेका थिए।

नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन समूह र विशेष महाधिवेशन समूहले वार्ता समिति बनाएका छन्। पार्टी संस्थापन समूहका तर्फबाट कार्यबाहक सभापति पूर्णबहादुर खड्का, रमेश लेखक र बालकृष्ण खाण सदस्य छन्। संस्थापन पक्षले खाणलाई समिति सदस्य थप गरेको हो। उता विशेष महाधिवेशन पक्षबाट नेता प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे वार्ता समितिमा सदस्य छन्। वार्ताका लागि समिति बने पनि छलफलका लागि समय र स्थान भने तय भइनसकेको संस्थापन पक्षका नेता रमेश लेखकले जानकारी दिएका छन्।

कांग्रेसको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेका थिए। तर सभापति शेरबाहदुर देउवासहित संस्थापन समूहले त्यसलाई दबाउन खोजेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आह्वान गरेका थिए।

आजको बन्द सत्रमा निर्वाचन, अनुशासन, केन्द्रीय समिति लगायतका समिति भङ्ग गरिने छ । यता, नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको हो । पार्टी कार्यालयमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र ७ वटै प्रदेशका सभापतिलाई सहभागी हुन निर्देशन दिइएको मुख्य सचिव कृष्ण पौडेलले बताए ।