१२ वर्षदेखि जितविहीन नेपाल, इटलीविरुद्ध इतिहास दोहोर्याउने लक्ष्यमा

आईसीसी टी–२० विश्वकपमा नेपाललाई अहिले सबैभन्दा बढी खड्किरहेको तथ्य भनेको सन् २०१४ मार्च २० मा बंगलादेशमा अफगानिस्तानलाई हराएपछि नेपालले विश्वकपमा कुनै खेल जित्न नसक्नु हो। ठीक १२ वर्षअघि हासिल गरिएको त्यो ऐतिहासिक जितपछि नेपाल टी–२० विश्वकपमा जितविहीन रहँदै आएको छ।

२०१४ को सानदार डेब्यू

सन् २०१४ मा बंगलादेशमा आयोजित आईसीसी टी–२० विश्वकपमार्फत नेपालले पहिलो पटक क्रिकेट विश्वकपमा डेब्यू गरेको थियो। नेपालको समूहमा आयोजक बंगलादेश, अफगानिस्तान र हङकङ थिए — जुन नेपालका लागि परिचित प्रतिद्वन्दी मानिन्थे।

मार्च १६, २०१४ मा चितागोङस्थित जहुर अहमद चौधरी स्टेडियममा नेपालले हङकङविरुद्ध आफ्नो पहिलो विश्वकप खेल खेलेको थियो। डेब्यू खेलमै नेपालले हङकङलाई ८० रनले पराजित गर्दै शानदार सुरुआत गर्‍यो। त्यसपछि बंगलादेशसँग पराजित भए पनि तेस्रो खेलमा अफगानिस्तानलाई ९ रनले स्तब्ध पार्दै नेपालले पहिलो सहभागितामै दुई जित दर्ता गर्‍यो।

यद्यपि नेटरनरेटमा पछि परेपछि नेपाल सुपर–१२ मा पुग्न सकेन। तर त्यो डेब्यू विश्वकपले नेपाली क्रिकेटलाई विश्वमञ्चमा चिनाउने ऐतिहासिक अवसर दिएको थियो। त्यसैबाट प्रेरित भएर धेरै युवा क्रिकेटमा लागेका थिए, विश्वकप खेल्ने सपना बोकेर।

जितको खडेरी

पहिलो विश्वकपपछि नेपालले थप दुई पटक टी–२० विश्वकपमा छनोट गर्‍यो। सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकपमा नेपालले समूह चरणका चारमध्ये तीन खेल गुमायो भने एक खेल वर्षाका कारण रद्द भयो।

यस संस्करणमा भने नेपाल भारत र श्रीलंकामा संयुक्त रूपमा भइरहेको विश्वकप खेलिरहेको छ। यो नेपालको लगातार दोस्रो तथा समग्रमा तेस्रो विश्वकप सहभागिता हो।

नेपालले यसबीचमा टेस्ट राष्ट्रहरूसँग खेल्ने अनुभव बटुलेको छ। केही खेलमा टेस्ट टिमलाई हराउने नजिक पनि पुगेको छ। तर विश्वकपमा भने २०१४ पछिको जित अझै दोहोरिन सकेको छैन।

इंग्ल्याण्डसँग ४ रनको हार, आशा अझै जीवित

हाल जारी विश्वकपको पहिलो खेलमा नेपालले मुम्बईस्थित वानखेडे स्टेडियममा दुई पटकको टी–२० विश्वकप विजेता इंग्ल्याण्डसँग खेल्यो। उत्कृष्ट प्रदर्शन गर्दै जितको अत्यन्तै नजिक पुगे पनि नेपाल ४ रनले पराजित भयो।

त्यो खेलपछि नेपालले विश्वभरबाट प्रशंसा पाएको थियो। कठिन अवस्थामा पनि संयमित खेल प्रदर्शन गरेको भन्दै क्रिकेट विश्लेषकहरूले नेपाली टोलीको खुलेर सराहना गरेका थिए।

पहिलो खेलपछि नेपाली टोलीका सदस्य नन्दन यादवले समर्थकहरूको बाक्लो उपस्थितिलाई “टिमप्रतिको माया र विश्वास” को संज्ञा दिएका थिए। विश्वको जुनसुकै मैदानमा खेल्दा पनि नेपाली समर्थकहरूको उपस्थिति उल्लेखनीय रहँदै आएको छ।

अब इटलीसँग निर्णायक भिडन्त

अब नेपालले समूह ‘सी’ अन्तर्गत दोस्रो खेल बिहीबार इटलीसँग खेल्दैछ। १२ वर्षपछि फेरि विश्वकपमा जित निकाल्ने योजनाका साथ नेपाल मैदान उत्रिनेछ।

तुलनात्मक रूपमा इटली यस विश्वकपमा वरियतामा सबैभन्दा तलको टोली हो। इटली आईसीसी टी–२० वरियतामा २७औं स्थानमा छ। यो उनीहरूको डेब्यू विश्वकप हो र यस संस्करणमा पहिलो पटक सहभागी हुने एक मात्र टोली हो।

फुटबलमा चार पटक विश्वकप जितिसकेको इटलीले क्रिकेटमा पनि विश्वकपमा डेब्यू गर्दै नयाँ इतिहास रचेको छ। तर पहिलो खेलमा स्कटल्याण्डसँग पराजित हुँदै इटलीले हारबाट आफ्नो यात्रा सुरु गर्नुपरेको थियो।

कप्तान रोहितको सन्देश

इंग्ल्याण्डसँगको खेलपछि इटलीविरुद्ध दोस्रो खेल खेल्नुअघि नेपालका कप्तान रोहित पौडेल मंगलबार वानखेडे स्टेडियममा आयोजित प्रि–म्याच कन्फेरेन्समा उपस्थित भएका थिए। उनले पहिलो खेलबाट दबाब सम्हाल्ने र कठिन परिस्थितिमा निर्णय लिने महत्वपूर्ण अनुभव पाएको बताएका थिए।

रोहितले संकेत गरेका छन् कि टोलीले सकारात्मक पक्षलाई अघि बढाउँदै दोस्रो खेलमा नतिजा आफ्नो पक्षमा पार्ने प्रयास गर्नेछ।

वानखेडेमा नेपाली माहोल

नेपालले समूहका सबै खेल वानखेडे स्टेडियममै खेल्ने भएकाले मैदानमा नेपाली समर्थकहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ। पहिलो खेलमा देखिएको ऊर्जा र समर्थनले टोलीलाई थप आत्मविश्वास दिएको छ।

१२ वर्षअघि बंगलादेशमा सुरु भएको ऐतिहासिक यात्राको सम्झना अझै ताजा छ। अब प्रश्न एउटै छ — के नेपालले इटलीविरुद्ध त्यो २०१४ को जितको मिठास फेरि चाख्न सक्ला?

नेपाली क्रिकेट समर्थकहरूको नजर अहिले वानखेडेतर्फ केन्द्रित छ।