को हुन् त सुमन सायमी उम्मेदवारलाई चिनौ

काठमाडौं – कालीमाटीको व्यस्त बजारबीच रहेको ‘स्वीट केव’ मिठाइ पसल केवल व्यापारिक केन्द्र मात्र थिएन, राजनीतिक छलफल र रणनीतिक तयारीको अनौपचारिक थलो पनि थियो। त्यही पसलका सञ्चालक जीवन मानन्धर—काठमाडौंमा ‘जीवन दाइचा’ नामले चिनिएका—राजनीतिक उथलपुथलका दिनमा धेरै नेताहरूका लागि आश्रयदाता बने। ०४६ सालको आन्दोलनताका खतरा मोलेर शीर्ष नेताहरूलाई घरमै सेल्टर दिएका जीवन दाइचाको राजनीतिक प्रतिबद्धता र उदार स्वभाव आज पनि कालीमाटीका पुराना बासिन्दाले सम्झन्छन्।

उनै जीवन दाइचाका जेठा छोरा सुमन सायमी अहिले काठमाडौं क्षेत्र नम्बर ८ का चर्चित राजनीतिक अनुहारका रूपमा उभिएका छन्। बुवाको राजनीतिक विरासत, त्याग र इमानदार छविले सुमनको राजनीतिक यात्रामा स्पष्ट छाप छोडेको देखिन्छ।

आन्दोलनबाट चिनिएको अनुहार

सुमन सायमी सडक विस्तार, गुठी विधेयक, खोला मापदण्ड र भूमि अधिकार जस्ता मुद्दामा सक्रिय रहँदै आएका छन्। गैरन्यायिक सडक विस्तारविरुद्धको संघर्षका क्रममा उनी पक्राउसमेत परे। प्रहरी हिरासतमा नेपालभाषा बोलेको आरोप खेप्नुपरेको घटना उनीसँग जोडिएको चर्चित प्रसंग हो।

कहिले गैरन्यायिक सडक विस्तार संघर्ष समितिका संयोजकका रूपमा, त कहिले खोला मापदण्ड पीडितहरूको पक्षमा उभिँदै उनले पटक–पटक हिरासत जीवन व्यहोरे। आन्दोलनको राजनीतिमा आफूलाई चिनाएका सायमीलाई समर्थकहरू ‘नागरिक अगुवा’ भन्छन् भने आलोचकहरूले उनलाई ‘अत्यधिक विरोधमा केन्द्रित’ नेताका रूपमा चित्रण गर्ने गरेका छन्।

बुवाको विरासत, आफ्नै बाटो

जीवन दाइचाले पार्टी र नेताका लागि योगदान दिए पनि व्यक्तिगत लाभ नलिएको प्रसंग राजनीतिक वृत्तमा उदाहरणका रूपमा लिइन्छ। २०५४ सालमा पार्टी विभाजनको घोषणा हुँदा उनी भावुक बनेको संस्मरण उनका समकालीनहरूले सार्वजनिक गरेका छन्।

सायमी भन्छन्—बुवाबाट पाएको इमान, स्वाभिमान र आत्मनिर्भरता नै मेरो राजनीतिक आधार हो। उनी स्वयंले पनि “हामीले नगरे कसले गर्छ?” भन्ने प्रश्नले आफूलाई राजनीतिमा तानेको बताउने गरेका छन्।

चुनावी मैदानमा उपस्थिति

२०७९ सालको स्थानीय तह निर्वाचनमा सुमन सायमी काठमाडौं महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिए। उनले १३ हजार ७७० मत प्राप्त गरे।

त्यसपछि सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–८ बाट उम्मेदवारी दिएका सायमी ६ हजार १७९ मतसहित दोस्रो स्थानमा रहे।

हालै उनी नेकपाबाट काठमाडौं–८ का लागि उम्मेदवार बनेका छन्। पार्टी नेतृत्वले उपत्यकाबाट जित्ने सम्भावना बोकेको उम्मेदवारका रूपमा प्रस्तुत गर्दै टिकट हस्तान्तरण गरेको जनाएको छ।

आन्दोलनभन्दा माथि नीति निर्माणमा जोड

सायमीले सार्वजनिक रूपमा व्यक्त गर्ने धारणा स्पष्ट छ—“केवल आन्दोलनले दीर्घकालीन समाधान आउँदैन, नीति निर्माण तहमा पुग्नुपर्छ।” संस्कृति, सम्पदा, शहर र सभ्यताका मुद्दा राज्यको नीति तहमा स्थापित गर्न आफू सक्रिय राजनीतिमा आएको उनको भनाइ छ।

दशकभन्दा बढी समयदेखि विभिन्न नागरिक आन्दोलनमा संलग्न सायमी आफूलाई ‘मुद्दाको राजनीति गर्ने व्यक्ति’का रूपमा चिनाउन चाहन्छन्।

जीवन दाइचाको त्याग र संघर्षको छायाँमा हुर्किएका सुमन सायमी अहिले आफ्नै राजनीतिक पहिचान निर्माणको चरणमा छन्। आन्दोलनका सडकदेखि निर्वाचनको मैदानसम्मको उनको यात्रा आगामी दिनमा कता मोडिनेछ, त्यो भने मतदाताको निर्णयले तय गर्नेछ।