प्रसाईं पक्राउ प्रकरण चर्कियो , आन्दोलनको घोषणा

मेडिकल व्यवसायी तथा ‘हाम्रो राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंको रिहाइको माग गर्दै उनका समर्थकहरूले देशव्यापी आन्दोलन घोषणा गरेका छन्। प्रसाईंको सचिवालयले विज्ञप्ति जारी गर्दै फागुन ६ गतेदेखि अनिश्चितकालीन नेपाल बन्द गर्ने चेतावनी दिएको हो।

सचिवालयका अनुसार प्रसाईंलाई बिना ठोस आधार हिरासतमा राखिएको छ र यो कदम नागरिकको वाक स्वतन्त्रता तथा प्रजातान्त्रिक अधिकारमाथिको दमन भएको आरोप लगाइएको छ। सरकारले अभियानले उठाएका माग सम्बोधन गर्नुको सट्टा राज्य शक्ति दुरुपयोग गरी संयोजकलाई बन्दी बनाएको दाबी गर्दै सचिवालयले यसलाई “अलोकतान्त्रिक र अन्यायपूर्ण” कदमको संज्ञा दिएको छ।

विज्ञप्तिमा सरकारसँग पटक–पटक शान्तिपूर्ण रूपमा रिहाइको माग गरिए पनि बेवास्ता गरिएको उल्लेख छ। सोही कारण आफूहरू कडा आन्दोलनमा उत्रिन बाध्य भएको जनाइएको छ।

घोषित कार्यक्रमअनुसार फागुन ६ देखि देशभर उद्योग, कलकारखाना, यातायात, शिक्षण संस्था तथा व्यापारिक प्रतिष्ठान बन्द गर्न आह्वान गरिएको छ। मुख्य चोक तथा जिल्ला सदरमुकामहरूमा विरोध प्रदर्शन र कोणसभा आयोजना गरिने सचिवालयले जनाएको छ।

यसैबीच महाअभियानले अघि सारेका २७ बुँदे माग तत्काल सम्बोधन गर्न सरकारसँग पुनः आग्रह गरिएको छ। साथै वैदिक सनातन हिन्दु अधिराज्य र राजसंस्था पुनःस्थापनापछि मात्र चुनाव हुनुपर्ने अडान पनि दोहोर्याइएको छ।

प्रसाईं पक्राउ प्रकरणले राजनीतिक वृत्तमा नयाँ बहस सुरु गराएको छ भने आगामी दिनमा आन्दोलनको प्रभाव कस्तो पर्छ भन्ने विषय चासोको केन्द्रमा रहेको छ।