काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल ले आगामी निर्वाचनलाई निष्पक्ष र विश्वसनीय बनाउन सरकार पूर्ण रूपमा कठोर रूपमा प्रस्तुत हुने स्पष्ट संकेत दिएका छन्। निर्वाचनविरोधी कुनै पनि गतिविधि सह्य नहुने भन्दै उनले दोषीलाई कानुनको दायरामा ल्याइने चेतावनी दिएका हुन्।
आइतबार नेपाली सेनाको हेलिकप्टरमार्फत बझाङ पुगेका गृहमन्त्री अर्यालले जिल्ला प्रशासन कार्यालयमा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दै सुरक्षा तयारीबारे जानकारी लिएका थिए। त्यसपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विगतका निर्वाचनमा देखिएका कमजोरी यसपटक दोहोरिन नदिने प्रतिबद्धता जनाए।
उनका अनुसार उपलब्ध जनशक्ति र स्रोत–साधनको अधिकतम प्रयोग गर्दै निष्पक्ष, पारदर्शी र व्यवस्थित ढंगले निर्वाचन सम्पन्न गरिनेछ।
गृहमन्त्री अर्यालले भौगोलिक विकटता वा अन्य बहानामा अर्काको नाममा मतदान गर्ने, मृत व्यक्तिको नाममा भोट हाल्ने तथा बुथ कब्जा गर्ने जस्ता गतिविधि कदापि सह्य नहुने स्पष्ट पारे। उनले यस्तो गतिविधिमा संलग्न जो–कोही—चाहे राष्ट्रसेवक, सर्वसाधारण, मतदाता वा दलका प्रतिनिधि नै किन नहोस्—लाई नियन्त्रणमा लिएर कानुनी कारबाही गरिने बताए।
सरकार प्रशासनिक संयन्त्र सक्षम, सजग र निष्पक्ष रहेको दाबी गर्दै उनले सबै राजनीतिक दल, उम्मेदवार र मतदातालाई स्वच्छ र प्रतिस्पर्धात्मक वातावरण कायम राख्न सहयोग गर्न आग्रहसमेत गरे।
