प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज देशभर मतदान हुँदै छ। निर्वाचन आयोगले तोकेका मतदान केन्द्रहरूमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदाताले मतदान गर्न पाउने व्यवस्था गरिएको छ।
मतदानका लागि जाँदा मतदाताले आफ्नो परिचय खुल्ने आधिकारिक कागजात अनिवार्य रूपमा साथमा लैजानुपर्ने आयोगले जनाएको छ। आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार मतदाता नामावलीमा नाम भएको मतदाताले विभिन्न ६ प्रकारका परिचयपत्र प्रयोग गरेर मतदान गर्न सक्ने व्यवस्था गरिएको छ।
निर्वाचन आयोगले उपलब्ध गराएको मतदाता परिचयपत्र भए सोही कागजात प्रयोग गर्नुपर्नेछ। यदि उक्त परिचयपत्र नभएको अवस्थामा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) मध्ये कुनै एक कागजात देखाएर मतदान गर्न सकिने उनले बताए।
मतदान केन्द्रमा पुगेपछि महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ। मतदाताले सम्बन्धित लाइनमा बसेर आफ्नो पालोअनुसार मतदान गर्नुपर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ।
यसैगरी, शारीरिक रूपमा अशक्त व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिलाका लागि मतदान केन्द्रमा विशेष सहजीकरण गरिएको छ। यस्ता मतदातालाई लाइनमा बस्नुपर्ने बाध्यता नरहने गरी अलग व्यवस्था गरिएको सूचना अधिकारी घिमिरेले जानकारी दिए।
मतदान गर्न कठिनाइ हुने व्यक्तिहरूले मतदान अधिकृत, सहायक मतदान अधिकृत, खटिएका कर्मचारी तथा स्वयंसेवकबाट आवश्यक सहयोग लिन सक्नेछन्। आयोगले मतदानमा खटिएका कर्मचारीलाई पनि विशेष आवश्यकता भएका मतदातालाई सहज र सम्मानजनक वातावरणमा मतदान गराउन निर्देशन दिएको जनाएको छ।
निर्वाचन आयोगले सबै मतदातालाई शान्तिपूर्ण, अनुशासित र मर्यादित रूपमा मतदान प्रक्रियामा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न आग्रह गरेको छ।
