विदेशमा बसेर पनि मातृभाषाप्रति माया: कारेन शाक्यको नयाँ गीत तयारीमा

काठमाडौं । जनकवि दुर्गालाल श्रेष्ठद्वारा रचित नयाँ नेपालभाषा गीत ‘चुलबुल चंचल’को रेकर्डिङ सम्पन्न भएको छ। वरिष्ठ संगीतकार न्ह्यू बज्राचार्यको संगीत तथा वरिष्ठ गायिका निशा देशारको प्रशिक्षणमा उक्त गीत डोरेमी स्टुडियोमा रेकर्ड गरिएको हो।

जापानमा बसोबास गर्दै आएका समाजसेवी तथा व्यवसायी सुनिल कुमार शाक्यकी सुपुत्री कारेन शाक्यको स्वरमा रहेको यो गीतको म्युजिक भिडियो पनि चाँडै सार्वजनिक गरिने तयारी गरिएको छ। नेपालभाषा संगीतप्रति रुचि राख्ने कारेन शाक्यले नयाँ गीतका लागि जनकवि दुर्गालाल श्रेष्ठबाट गीत लेखाएका थिए।

कारेन शाक्यको यसअघि सार्वजनिक भएको नेपालभाषा गीत ‘समाःया सँया झा’ ले दर्शक–श्रोताबाट राम्रो प्रशंसा पाएको थियो। नयाँ गीत ‘चुलबुल चंचल’को डिजाइन तथा परिकल्पना वरिष्ठ संगीतकार न्ह्यू बज्राचार्यले गरेका छन्।

समाजसेवी तथा व्यवसायी सुनिल कुमार शाक्यका अनुसार विदेशमा बसोबास गर्ने नेपालीहरूले यस्ता म्युजिक भिडियो निर्माण गर्दा नयाँ पुस्तालाई मातृभाषा, कला–संस्कृति र नेपालको पहिचानसँग जोड्न मद्दत पुग्ने विश्वास गरिएको छ। साथै, नेपालमा केही समयदेखि सुस्ताएको संगीत क्षेत्रमा पनि यसले आर्थिक तथा सिर्जनात्मक ऊर्जा थप्ने अपेक्षा गरिएको उनले बताए।