काठमाडौं। काठमाडौं उपत्यकामा केही दिनयता वायु प्रदूषण उल्लेखनीय रूपमा बढेको छ। लामो समयसम्म वर्षा नपर्नु र मौसम धुम्मिँदै जानुका कारण प्रदूषणको मात्रा बढ्दै गएको हो।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार लामो समयसम्म पानी नपरेको र मौसम धुम्मिएको कारण वायुमा प्रदूषण बढेको हो। उहाँले प्रदूषणको स्तर उच्च हुँदा अनावश्यक रूपमा घरबाहिर ननिस्कन तथा बाहिर निस्कँदा मास्क प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गर्नुभएको छ।
आज बिहान ७ बजे काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १७७ मापन गरिएको छ। हिजो भने एक्यूआई २०० भन्दा माथि पुगेको थियो।
एक्यूआईको मापदण्डअनुसार ० देखि ५० सम्म ‘राम्रो’ मानिन्छ भने ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ श्रेणीमा पर्छ। १०० देखि १५० ‘अस्वस्थ’ मानिन्छ, जसले विशेषगरी श्वासप्रश्वास तथा मुटु रोगीलाई असर गर्न सक्छ। १५१ देखि २०० ‘सबैका लागि अस्वस्थ’, २०१ देखि ३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ स्तर मानिन्छ।
हावा चलेमा वा पानी परेमा मौसम सफा भएसँगै प्रदूषण कम हुने भए पनि तत्काल धुम्म मौसम खुल्ने सम्भावना कम रहेको विभागले जनाएको छ। महानिर्देशक सुवेदीले वायु प्रदूषण बढेको अवस्थामा आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गर्नुभएको छ।
