काठमाडौं। नेपालभाषा साहित्यका ख्यातिप्राप्त आधुनिक कवि, वरिष्ठ पत्रकार, भाषासेवी, नेवा: आन्दोलनका अभियन्ता तथा भाषा आयोगका पूर्व माननीय सुरेश किरण मानन्धरको राजकीय सम्मानसहित अन्तिम संस्कार गरिएको छ।
स्वर्गीय मानन्धरको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि नेपालभाषा मंकाः खलःको भवनमा बुधबार बिहान ९ बजेदेखि १२ बजेसम्म राखिएको थियो। सो अवधिमा विभिन्न क्षेत्रका व्यक्तित्व, साहित्यकार, पत्रकार तथा शुभेच्छुकहरूले पुगेर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।
श्रद्धाञ्जली दिन पुगेका नेवा: समुदायका अग्रज व्यक्तित्व मल्ल के. सुन्दरले नेवा: परम्पराअनुसार नेवाः समुदायको झन्डा अर्पण गरेका थिए। त्यसैगरी नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हाले पनि नेपालको झण्डा ओडाएर श्रद्धाञ्जली अर्पण गरेका थिए।
यसैबीच भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरको पनि उपस्थितिमा मानन्धरलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको थियो।
श्रद्धाञ्जली कार्यक्रमपछि स्वर्गीय मानन्धरको पार्थिव शरीरलाई राजकीय सम्मानसहित शवयात्रा निकालेर शोभा भगवतीस्थित कर्णदीपमा पुर्याई अन्तिम संस्कार गरिएको हो।
अन्तिम श्रद्धाञ्जली तथा शवयात्रामा साहित्य, पत्रकारिता, भाषा आन्दोलन तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्वर्गीय मानन्धरका श्रीमती र दुई छोरा रहेका छन्।
