कालीगण्डकीमा बेपत्ता भएका दुईमध्ये तोयानाथको शव फेला, शरणको खोजी जारी

पाल्पा, बैशाख २ – पाल्पाको बगनासकाली गाउँपालिका–७ स्थित दैलातुङमा कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुईमध्ये एक जनाको शव भेटिएको छ। नयाँ वर्षको अवसरमा हिजो बेलुका नदीमा पौडी खेल्न गएका बगनासकाली–९ चाप्पानीका २९ वर्षीय तोयानाथ बस्यालको शव आज बिहान फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार सोही स्थानका ३९ वर्षीय शरण भुसाल भने अझै बेपत्ता हुनुहुन्छ। नयाँ वर्ष मनाउनका लागि चार जनाको समूहमा कालीगण्डकी पुगेका उनीहरूमध्ये दुई जनालाई नदीले बगाएको थियो। अन्य दुई जनाले भने पौडिएर ज्यान जोगाउन सफल भएका थिए।

बेपत्ता शरण भुसालको खोजीका लागि स्थानीय र प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। नयाँ वर्षको खुसीयाली मनाउन गएका युवाहरू डुबेपछि गाउँमा शोक छाएको छ।