वैशाख ४ गते हुने संसदीय समितिको सभापति निर्वाचनको तयारी पूरा: भोलि मनोनयन दर्ता

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिहरूको सभापति चयनका लागि आगामी वैशाख ४ गते निर्वाचन हुने भएको छ ।

‘मिनी संसद्’ मानिने यी समितिहरूको नेतृत्व चयनका लागि सङ्घीय संसद् सचिवालयले निर्वाचन तालिका सार्वजनिक गर्दै तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

प्रकाशित कार्यक्रमअनुसार बिहीबार दिउँसो १ देखि ४ बजेसम्म मनोनयन प्रस्ताव दर्ता गर्ने समय तोकिएको छ । सभापति पदको उम्मेदवार बन्न सम्बन्धित समितिकै एक जना सदस्य प्रस्तावक र अर्को एक जना सदस्य समर्थक हुनुपर्ने प्रावधान छ । दर्ता भएका प्रस्तावहरूको सूची सोही दिन अपराह्न ४:३० बजे सार्वजनिक गरिने सङ्घीय संसद्का सचिव हर्कराज राईले जानकारी दिनुभयो ।

निर्वाचनको मुख्य प्रक्रिया शुक्रबार दिउँसो १ बजेबाट सुरु हुनेछ । सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्ताव राख्ने र समर्थकले समर्थन गरेपछि त्यसलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । यदि एकभन्दा बढी समितिमा सदस्य रहेका मन्त्रीहरूले मतदान गर्नुपर्ने अवस्था आएमा, त्यसको जानकारी २४ घण्टा अगावै लिखित रूपमा दिनुपर्ने व्यवस्था गरिएको छ ।

हाल प्रतिनिधिसभामा १० वटा विषयगत समिति, राष्ट्रिय सभामा ४ वटा र २ वटा संयुक्त समितिहरू क्रियाशील छन् ।