सन् २०२६ को विश्वकपमा इरानको सहभागिता निश्चित, फिफा अध्यक्षद्वारा अन्योल अन्त्य

काठमाडौँ: पश्चिम एसियामा बढ्दो तनाव र युद्धको छायाका बीच सन् २०२६ को फिफा विश्वकपमा इरानको सहभागितालाई लिएर व्याप्त अन्योल अन्ततः समाप्त भएको छ। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले बुधबार राति एक आधिकारिक बयान जारी गर्दै इरानी टोली “पक्कै पनि” विश्वकपमा सहभागी हुने स्पष्ट पार्नुभएको हो।

इरान र अमेरिका–इजरायलबीचको तनावपूर्ण सम्बन्धका कारण इरानी फुटबल टोलीले अमेरिकामा आयोजना हुने खेलहरूमा भाग लिने वा नलिने भन्ने विषयमा लामो समयदेखि संशय कायमै थियो। इरानले सुरक्षा र राजनीतिक कारण देखाउँदै आफ्ना खेलहरू अमेरिकाबाट मेक्सिकोमा सार्न फिफा समक्ष अनुरोध गरेको थियो। फिफाले उक्त प्रस्ताव अस्वीकार गरेपछि इरान प्रतियोगिताबाट पछि हट्न सक्ने अड्कलबाजीहरू गरिएका थिए।

यद्यपि, अध्यक्ष इन्फान्टिनोले खेलकुदलाई राजनीतिभन्दा माथि राख्नुपर्ने अडान दोहोर्‍याउनुभएको छ। उहाँले इरानी खेलाडीहरू आफ्नो मेहनतले छनोट भएको र उनीहरूले देशको गौरवका लागि प्रतिनिधित्व गर्ने बताउनुभयो। तालिका अनुसार इरानले आफ्नो पहिलो खेल जुन १५ (असार १) मा लस एन्जलसमा न्युजिल्याण्ड विरुद्ध खेल्नेछ। विश्वकप सुरु हुन दुई महिनाभन्दा कम समय बाँकी रहँदा आएको यो आधिकारिक पुष्टिले खेलप्रेमीहरूमा उत्साह जगाएको छ।