द्वन्द्व रोक्न छोटो अवधिको समझदारीमा अमेरिका र इरानको ध्यान, युरेनियम भण्डारमा अझै खिचातानी

अमेरिका र इरानबीच जारी वार्तामा देखिएको गतिरोध चिर्न अब दुवै पक्षले छोटो अवधिको अस्थायी सम्झौतामा ध्यान केन्द्रित गर्न थालेका छन्। हालै इस्लामाबादमा सम्पन्न वार्ता निष्कर्षविहीन भएपछि तत्कालको द्वन्द्व टार्न र स्थितिलाई थप बिग्रन नदिन यस्तो समझदारीको बाटो खोजिएको हो।

यस वार्ताको मुख्य गाँठो इरानको आणविक कार्यक्रम, विशेषगरी उच्च स्तरमा समृद्ध गरिएको युरेनियमको भण्डारण र व्यवस्थापनमा अल्झिएको छ। अमेरिकाले उक्त भण्डार देशबाहिर पठाउनुपर्ने अडान राखे पनि इरानले सुरुमा यसलाई अस्वीकार गरेको थियो। तर पछिल्लो समय इरानले आफ्नो केही युरेनियम तेस्रो देशमा पठाउन सकिने लचिलो सङ्केत दिएपछि केही प्रगतिको आशा पलाएको छ।

अर्कोतर्फ, युरेनियम समृद्धीकरण कार्यक्रम कति अवधिसम्म रोक्ने भन्नेमा पनि दुई देशबीच ठूलो खाडल देखिएको छ। अमेरिकाले २० वर्षको समयसीमा प्रस्ताव गर्दा इरान ३ देखि ५ वर्षभन्दा बढी समय मान्न तयार छैन। साथै, इरानले आफ्ना रोक्का गरिएका अर्बौँ डलरका सम्पत्ति फुकुवा र आर्थिक प्रतिबन्ध हटाउने स्पष्ट कार्यतालिका माग गरेको छ। यसका साथै विश्वको २० प्रतिशत इन्धन आपूर्ति हुने रणनीतिक ‘हर्मुज जलमार्ग’को सुरक्षा र जहाजहरूको निर्वाध आवतजावतका विषयमा पनि दुवै पक्षबीच सर्तसहितको सहमति खोज्ने प्रयास भइरहेको छ।