ललितपुर, २१ वैशाख । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि विधिवत रूपमा सुरु भएको छ ।
पुल्चोकमा निर्माण गरिएको विशाल रथमा मच्छिन्द्रनाथको मूर्तिलाई विराजमान गराएसँगै पाटनको सबैभन्दा ठूलो र ऐतिहासिक जात्राको औपचारिक सुरुवात भएको हो ।
त:बहालस्थित मन्दिरबाट खटमा राखेर ल्याइएको मूर्तिलाई रथमा प्रतिष्ठापन गरेपछि जात्राको चहलपहल सुरु भएको छ ।
करिब १६ सय वर्ष पुरानो यो जात्रा पाटनको सांस्कृतिक पहिचानको मुख्य आधार मानिन्छ । वैशाख शुक्ल प्रतिपदाबाट सुरु भई असार शुक्ल चौथीसम्म चल्ने यो रथयात्रा नेपालकै सबैभन्दा लामो जात्राका रूपमा परिचित छ ।
धार्मिक किम्वदन्तीअनुसार उपत्यकामा अनिकाल र खडेरी परेका बेला राजा नरेन्द्रदेव, तान्त्रिक बन्धुदत्त आचार्य र स्थानीय ज्यापु समुदायको पहलमा मच्छिन्द्रनाथलाई कामरुप कामाक्षबाट नेपाल ल्याइएको विश्वास गरिन्छ ।
लिच्छवि र मल्लकालदेखि नै निरन्तर चल्दै आएको यो जात्रालाई राजा जयस्थिति मल्लले वसन्त ऋतुमा पर्ने गरी व्यवस्थित गरेका थिए ।
रथ निर्माणदेखि जात्रा सम्पन्न गर्ने कार्यसम्म विभिन्न गुठी र समुदायको सहभागिता रहनुले यसको सामाजिक महत्त्वलाई अझ उजागर गरेको छ ।
आगामी केही हप्तासम्म रथलाई पाटनका विभिन्न टोलमा परिक्रमा गराएसँगै यो सांस्कृतिक उत्सवले उपत्यकालाई नै थप रौनक प्रदान गर्नेछ ।
