थापाथलीका ‘सुकुम्बासी नेता’ नारायण परियार बैंकिङ कसुरमा पक्राउ, ज्यान मार्ने उद्योगको पुरानो मुद्दा पनि बल्झियो

काठमाडौं: थापाथलीस्थित सुकुम्बासी बस्तीको आडमा बसेर कानुनलाई चुनौती दिँदै आएका ‘सुकुम्बासी मोर्चा’ का कार्यवाहक अध्यक्ष नारायण परियार अन्ततः प्रहरीको फन्दामा परेका छन्।

लामो समयदेखि फरार रहेका परियारलाई जिल्ला प्रहरी परिसर काठमाडौँले बैंकिङ कसुरको मुद्दामा पक्राउ गरेको हो।

प्रहरी स्रोतका अनुसार, परियार विगत २०७९ सालदेखि नै कानुनको आँखामा छारो हाल्दै फरार रहँदै आएका थिए।

उनीमाथि केवल बैंकिङ कसुर मात्र होइन, गम्भीर प्रकृतिको ‘ज्यान मार्ने उद्योग’ को मुद्दा समेत दर्ता छ।

यसअघि थापाथलीमा सुकुम्बासी बस्ती हटाउने क्रममा सरकारी अधिकारी र प्रहरीमाथि नै जाइलागेको र बल प्रयोग गरेको आरोप समेत उनीमाथि लाग्दै आएको थियो।

पक्राउ परेपछि परियारमाथि कानुनी प्रक्रिया अगाडि बढाइएको छ। बस्तीको नाममा अवैध गतिविधि सञ्चालन गर्दै आएका भनिएका परियारको पक्राउपछि थापाथलीको सुकुम्बासी राजनीतिमाथि नै प्रश्नचिह्न खडा भएको छ।

प्रहरीले अब उनलाई न्यायिक हिरासतमा राखेर अनुसन्धानलाई तीव्रता दिने जनाएको छ।