काठमाडौँ सुनचाँदी व्यवसाय सङ्घद्वारा साहसी युवती सजिना शाक्य सम्मानित

भेडासिंह बजारस्थित नैना एन्ड इशान ज्वेलरीमा भएको लुटपाट प्रयास विफल पार्न साहसिक भूमिका निर्वाह गरेकी युवती सजिना शाक्यलाई काठमाडौँ सुनचाँदी व्यवसाय सङ्घले सम्मान गरेको छ।

संघद्वारा आयोजित कार्यक्रममा ज्वेलरी सञ्चालक बबिता रौनियारले समेत सजिना शाक्यलाई सम्मान गर्दै उनको साहसको प्रशंसा गरेकी थिइन्। कार्यक्रममा बोल्दै संघका अध्यक्ष रोहिना शाक्यले महिलाले चाहे जुनसुकै चुनौतीपूर्ण कार्य पनि गर्न सक्ने बताउँदै सजिना शाक्य सम्पूर्ण समाजका लागि प्रेरणाको स्रोत बनेको उल्लेख गरे। उनले यस्ता साहसी व्यक्तित्वलाई सबै क्षेत्रबाट सम्मान गरिनुपर्ने धारणा राखे।

गत दिन दिउँसै पेस्तोल देखाएर लुटपाट मच्चाउन खोज्ने समूहलाई काठमाडौं प्रहरी परिसरले पक्राउ गर्न सफल भएको थियो। पक्राउ पर्नेमा हरिकृष्ण महर्जन, विकेश राजवाहक र अरुण भुजेल रहेका छन्।

प्रहरीका अनुसार मुख्य योजनाकार हरिकृष्ण महर्जनले अपराध लुकाउन गल्लीभित्रै कपडा फेरेर हुलिया बदल्ने प्रयास गरेका थिए। तर प्रहरीको सक्रिय अनुसन्धानका कारण उनी इमाडोलबाट पक्राउ परेका हुन्। पक्राउ परेका अरुण भुजेलको साथबाट लुटपाटमा प्रयोग गरिएको पेस्तोल समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

नैना एन्ड इशान ज्वेलरीमा कार्यरत कर्मचारी सजिना शाक्यले आफ्नो ज्यानको पर्वाह नगरी अपराधीहरूको प्रतिकार गरेपछि लुटपाट प्रयास असफल बनेको बताइएको छ। उनको साहसिक कदमको अहिले चौतर्फी प्रशंसा भइरहेको छ।

यसैबीच, पटक–पटक यस्ता आपराधिक घटना दोहोरिन थालेपछि स्थानीय व्यापारीहरू त्रसित बनेका छन्। उनीहरूले अपराधमा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।