बसन्तपुर दरबार क्षेत्र मा भोलि शनिबार काठमाडौं महानगरपालिका वडा नं. २३ को आयोजनामा योग शिविर, दाफा ब्वज्या:, हस्तकला प्रदर्शनी तथा नेवा: खाना महोत्सव आयोजना हुने भएको छ।
कार्यक्रम अन्तर्गत बिहान ५ बजे पतञ्जलि योग समिति नेपाल अन्तर्गत नःबहि तथा ध्यान केन्द्रको समन्वयमा विशेष योग शिविर सञ्चालन गरिने आयोजकले जनाएको छ। उक्त योग शिविरमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल को विशेष उपस्थिति रहने बताइएको छ।
त्यसैगरी साँझ ५ बजेदेखि वडा नं. २३ भित्रका परम्परागत दाफा ब्वज्या: समूहहरूको प्रस्तुति रहनेछ। साथै “एक गुथी, एक तालिम” कार्यक्रम अन्तर्गत सीप सिकेर उत्पादन गरिएका हस्तकलाका सामग्रीहरूको प्रदर्शनी तथा नेवा: नसा (परम्परागत नेवारी खाना) का विभिन्न परिकारहरूको स्टल पनि राखिनेछ।
आयोजकका अनुसार कार्यक्रमले परम्परागत नेवारी संस्कृति संरक्षण तथा प्रवर्द्धनमा टेवा पुर्याउनुका साथै स्थानीय सीपलाई व्यवसायीकरण गर्दै आयआर्जनमार्फत समाजलाई आर्थिक रूपमा सशक्त बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।
