विकल्पविना बस्ती खाली गराएको भन्दै माइतीघरमा भूमिहीनहरूको प्रदर्शन

काठमाडौं — सरकारद्वारा विकल्पविना बस्ती खाली गराउन थालिएको विरोधमा देशभरका भूमिहीन तथा अव्यवस्थित बसोवासीहरू काठमाडौंको माइतीघर मण्डला मा प्रदर्शनमा उत्रिएका छन्।

काठमाडौंका विभिन्न क्षेत्रबाट विस्थापित भएका सुकुमवासी तथा अव्यवस्थित बस्तीका नागरिकहरूले सरकारविरुद्ध विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरूले “डोजर चलाउन बन्द गर”, “व्यवस्थापन गर”, “विस्थापन होइन न्याय देऊ” र “मानव अधिकार देऊ” लगायतका नारासहित प्लेकार्ड प्रदर्शन गरेका छन्।

प्रदर्शनका क्रममा उनीहरूले प्लेकार्ड बोकेर प्लेड र चम्चा ठटाउँदै सरकारको कदमप्रति असन्तुष्टि जनाएका थिए। उचित विकल्प र पुनर्वासको व्यवस्था नगरी बस्ती हटाइएको भन्दै प्रभावितहरूले सरकारसँग तत्काल व्यवस्थापनको माग गरेका छन्।