काठमाडौं। लिभरपुलका स्टार फरवार्ड मोहम्मद सलाह चोटपछि यसै साता एस्टन भिल्लाविरुद्ध हुने प्रिमियर लिग खेलबाट मैदानमा फर्किन सक्ने भएका छन्। प्रशिक्षक आर्ने स्लटले बिहीबार यसको संकेत दिएका हुन्।
सलाह गत महिना क्रिस्टल प्यालेसमाथि ३–१ को जितका क्रममा ह्यामस्ट्रिङ समस्याका कारण मैदान छाड्न बाध्य भएका थिए। त्यसपछि उनको सिजन समाप्त हुन सक्ने र सिजनको अन्त्यसँगै एनफिल्ड यात्रा पनि टुंगिन सक्ने चर्चा चलेको थियो। इजिप्टका यी फरवार्ड यो सिजनपछि क्लब छाड्ने तयारीमा रहेको बताइएको छ।
तर, पछि लिभरपुलले उनको चोट सुरुमा अनुमान गरिएजति गम्भीर नभएको जनाएको थियो। एस्टन भिल्लाको मैदानमा शुक्रबार हुने खेलअघि पत्रकार सम्मेलनमा स्लटले भने,‘मो (सलाह) भोलिको खेलका लागि उपलब्ध हुनेछन्, तर केही मिनेट मात्र खेल्न सक्छन्। आशा छ उनी मैदानमा फर्किनेछन्।’
उनले गोलकिपर एलिसन बेकरले पनि टोलीसँग प्रशिक्षण सुरु गरिसकेको बताए। तर, उनी खेल्न तयार छन् कि छैनन् भन्ने निर्णय खेलअघि गरिने जानकारी दिए। त्यस्तै, फ्लोरियन विर्ट्ज पेटको संक्रमणका कारण एन्टिबायोटिक सेवन गरिरहेका छन्। उनी खेल्न सक्ने अवस्था पुगेका छन् कि छैनन् भन्ने पनि अन्तिम समयमा टुंगो लाग्ने स्लटले बताए।
लिभरपुल अहिले प्रिमियर लिग तालिकाको चौथो स्थानमा छ। टोलीको ५९ अंक रहेको छ, जुन एस्टन भिल्लाको बराबर हो। भिल्लामाथि जित निकाल्न सके लिभरपुलले अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान सुरक्षित गर्नेछ।
तर, यस सिजन लिभरपुलले गत वर्षको सफलता दोहोर्याउन सकेको छैन। टोली उपाधिविहीन रहने निश्चित जस्तै बनेको छ। त्यसैले प्रशिक्षक स्लटको भविष्यबारे पनि प्रश्न उठ्न थालेका छन्। आफू अर्को सिजन पनि एनफिल्डमा रहने कि नरहने भन्ने प्रश्नमा स्लटले भने,‘त्यो निर्णय म एक्लैले गर्ने कुरा होइन। तर, मसँग अर्को सिजन पनि लिभरपुलको प्रशिक्षक रहने पर्याप्त कारण छन्।’
उनले आफू क्लबसँग सम्झौतामा रहेको र क्लब व्यवस्थापनसँग भएका कुराकानी सकारात्मक रहेको बताए। लिभरपुलले मे २४ मा ब्रेन्टफोर्डविरुद्ध घरेलु मैदानमा आफ्नो अन्तिम लिग खेल खेल्नेछ।
