सुरुमै तोलामा ४५०० ले घट्यो सुनको मूल्य

जेठ महिनाको सुरुवाती चरणमै सुनचाँदीको मूल्यमा ठुलो गिरावट आएर उपभोक्तालाई केही राहत मिलेको छ।

शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा ४ हजार ५०० रुपैयाँले सस्तिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँ निर्धारण गरिएको छ, जुन शुक्रबार २ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको थियो।

सुनको लय पछ्याउँदै आइतबार चाँदीको बजार पनि शिथिल देखिएको छ। तोलामा ३३० रुपैयाँको गिरावट आएसँगै आज चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ।

यसअघि शुक्रबार चाँदीको व्यापार प्रतितोला ५ हजार ३९० रुपैयाँमा भएको थियो।

अन्तराष्ट्रिय बजारको उतारचढावकै कारण स्थानीय बजारमा पनि यो परिवर्तन देखिएको महासंघको भनाइ छ।