रैथाने हस्तकलालाई अन्तर्राष्ट्रिय बजार लैजाने महासंघको घोषणा, जेठ ८ देखि काठमाडौंमा भव्य एक्स्पो हुँदै

काठमाडौँ । नेपाली मौलिक हस्तकलाको विकास, विस्तार र आन्तरिक तथा अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्ने उद्देश्यका साथ आगामी जेठ ८ गतेदेखि काठमाडौंमा ‘नेपाल हस्तकला एक्स्पो’ आयोजना हुने भएको छ।

नेपाल हस्तकला महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेठ ८ देखि १० गतेसम्म काठमाडौंको आम्रपाली एभेन्ट्समा मेला आयोजना हुन लागेको आधिकारिक जानकारी दिएको हो।

विशेष गरी ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ को मूल अवधारणामा आधारित रहने यस एक्स्पोमा नेपाली हस्तकला लगायत निकासीको उच्च सम्भावना बोकेका वस्तुहरूको करिब ७० वटा व्यावसायिक स्टलहरू रहने महासंघकी उपाध्यक्ष मलिका श्रेष्ठले जानकारी दिइन्।

स्थानीय हस्तकलाको बजार विस्तार गर्ने र उत्पादक तथा उपभोक्ताबीच सिधै सम्पर्क स्थापित गराउने रणनीतिक लक्ष्य महासंघले लिएको छ। मेलाले मुलुकको मूर्त-अमूर्त कला, संस्कृति एवं परम्परागत परिकारहरूको संरक्षणमा समेत ठूलो टेवा पुर्‍याउने विश्वास लिइएको छ।

तीन दिनसम्म चल्ने यस मेलाको मुख्य आकर्षणका रूपमा हस्तकला प्रदर्शनी तथा बिक्री कक्ष, विविध सांस्कृतिक प्रस्तुतिहरू, र स्थानीय उद्योगी एवं कालीगढहरूको प्रत्यक्ष सीप प्रदर्शन रहने महासंघले जनाएको छ।