काठमाडौँ— श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई (हर्क साम्पाङ) ले संसदीय मर्यादा र नियमलाई चुनौती दिँदै आज पनि संसद् बैठकमा आफ्नो उग्र विरोध प्रदर्शन जारी राखेका छन्। सोमबार आफ्नो दलका सबै सांसदहरूलाई उतारेर संसद्को ‘वेल’ नै घेराउ गर्न पुगेका साम्पाङ आज भने फरक रणनीतिसहित प्रस्तुत भए।
आजको बैठकमा उनी संसद्को नियम विपरीत एक्लै आफ्नो सिटबाट उठेर प्ले-कार्ड प्रदर्शन गर्दै विरोधमा उत्रिएका थिए।
बिहान ठीक ११ बजे संसद्को कारबाही प्रारम्भ हुनासाथ सांसद साम्पाङ प्ले-कार्डसहित जुरुक्क उठेका थिए, जसले संसद् हलमा केही बेर अन्योल सिर्जना गर्यो। साम्पाङको यो अप्रत्याशित कदम लगत्तै सभामुख डोलप्रसाद अर्यालले तत्काल हस्तक्षेप गर्दै “किन उठ्नुभएको?” भन्दै कडा प्रश्न गरेका थिए।
सभामुख अर्यालले साम्पाङले विरोधका लागि कुनै आकस्मिक समय समेत माग नगरेको कुरा संसद्लाई स्पष्ट पारेका थिए।
सभामुखले नियमावली सम्झाउँदै साम्पाङको विरोधप्रति आफ्नो ध्यानाकर्षण भएको र उठाइएका विषयहरू संसद् सचिवालयमा दर्ता गराउन निर्देशन दिएपछि मात्रै साम्पाङ गलफती नगरी आफ्नो सिटमा बस्न बाध्य भएका थिए। साम्पाङ शान्त भएसँगै अवरुद्ध हुन खोजेको संसद् बैठक अन्ततः सहज रूपमा अगाडि बढेको थियो।
