कसाः तःधं गुथि, कसाः युवा समूहको आयोजनामा जनबहाल भित्र जनबहाः देवता (करुणामय) र जनबहालको बारेमा वेवसाइट क्यूआर लोकार्पण र सांस्कृतिक कार्यक्रम ने.सं. ११४६ अनलागाः षष्ठी, सनिबार (जेठ २३ गते)का दिन साँझ जनबहालमा भब्य रुपमा सम्पन्न भएको छ । यस प्रकार क्यूआर लोकार्पणका क्रममा जनबहालका गुरुजुहरुले जनबहाल देवताका धलं मण्डपमा रहेर स्वस्ति बाक्य बाचन पनि गर्नुभएको थियो ।
उदाय समुदायका छ वटा धाःबाजा खलःहरु भेला भई संयुक्त रुपमा गुंला बाजा प्रदर्शनका क्रममा जनबहाल गुंलाबाजं खलः, असं बाजं गुथि, न्यत तुलाधर गुंला बाजं, ताम्राकार गुंला बाजं खलः, तेबहाः गुंला बाजं खलः र स्थापित गुंला बाजं खलःहरुले सक्रियताका साथ भाग लिएर संयुक्त रुपमा धाःबाजा बजाई प्रदर्शन गरिएको हो । जनबहालमा जनबहाः देवताका अगाडि भएको यस गुंला बाजा प्रदर्शनका क्रममा सर्व प्रथम थँहिति मानन्धर गुथिबाट करुणामय दाफा बजाउने कार्य गरिएको छ ।
यसै गरी करुणामय चर्या नृत्य नमामि शाक्यले नृत्य प्रस्तुत गरिएको छ । यस चर्या नृत्य चर्या गुरु स्वयम्भू रत्न शाक्यको चर्या गीतमा भएको हो भने यस चर्या नृत्य संगीता शाक्यले सिकाउनुभएको हो । यसै गरी, बाजा प्रदर्शनका क्रममा जनबहाः गुंला बाजं खलःबाट करुणामय ग्वारा बाजा बजाउने कार्य गरिएको छ । साथै यस खलःबाट सांगीतिक क्षेत्रमा प्रख्यात कन्ता दब दबका साथमा धाःबाजा बजाई आफ्ना प्रस्तुति राखिएका थिए । यस कार्यक्रममा कन्ता दब दबबाट पनि आफ्ना आकर्षक सांगीतिक कार्यक्रम प्रस्तुत गरिएको छ ।
कार्यक्रमको अन्तमा, कार्यक्रम सफल पार्न बाजा बजाई टेवा दिएका खलः समूहलाई मायाको चिनो कसाः तःधं गुथिका अध्यक्ष अशोक ज्योति कसाःले प्रदान गर्नुभएको छ भने महिला समूहका अध्यक्ष अमिता कसाःले खादा लगाई दिनुभएको छ । गायक तथा लिपि प्रशिक्षक पवित्र कसाः र कसाः युवा समूहका उपाध्यक्ष प्रविधि कमल कसाःले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा कसाः तःधं गुथिका अध्यक्ष अशोक ज्योति कसाःले स्वागत मन्तब्य र जनबहाःका गुर्जु नीलकाजी शाक्यले यस बाजा प्रदर्शन निकै राम्रो भएको धारणा राख्नु हुँदै आफ्ना मन्तब्य राख्नुभएका थिए ।
कार्यक्रमका अन्तिम खण्डका रुपमा झिलिमिली बनाई सजाइएको जनबहालमा जनबहाः पँय्ताः पुचःबाट पँय्ताः बाजा बजाई कार्यक्रम समापन गरिएका थिए । कार्यक्रम शुरु हुनुभन्दा अगाडि हरेक गुंला बाजा खलःले आआफ्ना बाजा बजाई जनबहाःको मन्दिर परिक्रमा पनि गरिएको थियो ।
