फिफा विश्वकप अन्तर्गत जारी प्रतियोगिताको समूह ‘डी’ को आफ्नो पहिलो खेलमा अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ। अस्ट्रेलियाले युरोपियन टोली टर्कीलाई २-० ले पराजित गर्दै प्रतियोगितामा सानदार सुरुवात गरेको हो।
भ्यानकुभरस्थित बीसी प्लेसमा भएको खेलमा युवा फरवार्ड नेस्टोरी इरानकुन्डा नायक बने। उनले २७औँ मिनेटमा उत्कृष्ट व्यक्तिगत कौशल प्रदर्शन गर्दै टिमका लागि पहिलो गोल गरे। उनी विश्वकपमा गोल गर्ने अस्ट्रेलियाका सबैभन्दा कान्छा खेलाडीसमेत बने। २० वर्ष १२५ दिनको उमेरमा गोल गरेका इरानकुन्डाले सन् २०१० मा घानाविरुद्ध गोल गर्दा २६ वर्ष ८४ दिनका रहेका ब्रेट होल्मनको कीर्तिमान तोड्न सफल भए।
पूर्व बायर्न म्युनिख खेलाडी इरानकुन्डाले पउल ओकोन-एङ्स्टलरको पास नियन्त्रणमा लिएर रक्षकलाई छक्याउँदै गरेको ‘लो स्ट्राइक’ दर्शनीय थियो। विश्वकपमा सन् २००२ पछि पहिलो पटक सहभागी भएको टर्कीले खेलमा लामो समय दबाब बनाए पनि अस्ट्रेलियाको रक्षापंक्ति र गोलकिपर प्याट्रिक बीचलाई पार गर्न असफल रह्यो। प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय खेलमा पहिलो पटक सुरुआती रोजाइमा परेका बीचले अब्दुलकेरिम बार्दाक्चीको शक्तिशाली प्रहार पोस्टतर्फ धकेल्दै उत्कृष्ट बचाउ गर्दा सम्भावित बराबरीको अवसरबाट टर्की चुक्यो।
दोस्रो हाफमा अर्दा गुलर र जेकी सेलिकका प्रयास पनि गोलरक्षकले विफल पारे। टर्की बराबरी गोलको खोजीमा रहेका बेला ७५औँ मिनेटमा मिडफिल्डर कोनर मेटकाल्फले विपक्षीको गल्तीको फाइदा उठाउँदै दोस्रो गोल थपे र अस्ट्रेलियाको जित पक्का गरे।
प्रशिक्षक टोनी पोपोभिचको टोलीका १० खेलाडीले विश्वकपमा डेब्यु गरेको यो युवा टोलीले प्रभावशाली प्रदर्शन गर्दै समूह ‘डी’ अभियानलाई सुखद बनाएको छ।
