काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध यौन उत्पीडनको आरोप लगाएकी लेखिका ई. जिन क्यारोलले जूरीले निर्धारण गरेको ५० लाख अमेरिकी डलर क्षतिपूर्ति ट्रम्पबाट असुल गराउन अदालतसँग आदेश माग गरेकी छन्।
तीन वर्षअघि भएको एक दिवानी (सिभिल) मुद्दामा जूरीले ट्रम्पलाई क्यारोलमाथि यौन उत्पीडन गरेको तथा त्यसपछि उनको मानहानि गरेको ठहर गरेको थियो।
अमेरिकी सर्वोच्च अदालतले ट्रम्पले उक्त मुद्दाको पुनः सुनुवाइको माग गर्दै दायर गरेको निवेदन खारेज गरेको भोलिपल्ट क्यारोलले अदालतमा यो अनुरोध दर्ता गराएकी हुन्।
सन् २०२३ को मे महिनामा न्यूयोर्कको एक जूरीले क्यारोलको पक्षमा फैसला गर्दै ट्रम्पलाई ५० लाख अमेरिकी डलर क्षतिपूर्ति तिर्न आदेश दिएको थियो।
क्यारोलका अनुसार ट्रम्पले सन् १९९० को दशकको मध्यतिर म्यानह्याटनस्थित बर्गडोर्फ गुडम्यान डिपार्टमेन्ट स्टोरको ट्रायल रुममा उनको यौन उत्पीडन गरेका थिए। त्यसपछि ट्रम्पले सामाजिक सञ्जालमार्फत ती आरोपलाई ‘झुटो र मनगढन्त’ भन्दै अस्वीकार गरेका थिए।
ट्रम्पले भने सुरुदेखि नै सबै आरोप अस्वीकार गर्दै आएका छन्।
८२ वर्षीया क्यारोल पूर्व पत्रिका स्तम्भकार हुन्। उनले सन् २०२२ मा ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै आफ्ना आरोपलाई झुटो भनेपछि आफ्नो मानहानि भएको दाबीसमेत गरेकी छन्।
यसअघि जूरीले ट्रम्पलाई यौन उत्पीडन र मानहानि दुवैमा जिम्मेवार ठहर गर्दै क्यारोललाई ५० लाख अमेरिकी डलर क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको थियो। अहिले सर्वोच्च अदालतले ट्रम्पको पुनः सुनुवाइको माग अस्वीकार गरेपछि उक्त निर्णय कार्यान्वयन गराउन क्यारोलले अदालतसँग औपचारिक आग्रह गरेकी हुन्।
