वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्यायलाई भारतको आसाम राज्यमा आयोजना हुने १०औँ अन्तर्राष्ट्रिय संगम महोत्सवमा ‘कला शिरोमणी’ पुरस्कार प्रदान गरिने भएको छ। गुवाहाटीस्थित श्री श्री राजहुवा सत्रको आयोजनामा हुने उक्त महोत्सव जुलाइ १९ देखि २१ तारिखसम्म कुमारपारास्थित श्री श्री राजहुवा सत्र रंगमञ्चमा सञ्चालन हुने आयोजक संस्थाका सत्रधिकार सनातन दासले जानकारी दिनुभयो। महोत्सवका अवसरमा राजोपाध्यायलाई ‘कला शिरोमणी’ पुरस्कार प्रदान गरिनुका साथै उहाँको विशेष सरोदवादन पनि प्रस्तुत गरिने संस्थाका सांस्कृतिक सचिव मन्जुमणी बोराहले बताउनुभयो।
आयोजक संस्थाका सचिव हलाराम बोराह बोरवयनका अनुसार तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा भारतका विभिन्न राज्यबाट सहभागी कलाकारहरूले नृत्य, संगीत, वाद्यवादन तथा अन्य सांस्कृतिक प्रस्तुति दिनेछन्। साथै विभिन्न सांस्कृतिक विधाका प्रतियोगितासमेत आयोजना गरिनेछ। यसअघि गत मे महिनामा भारतको महाराष्ट्रस्थित पुणेमा आयोजित ‘भारत उत्सव’मा पनि राजोपाध्यायलाई ‘राष्ट्रिय कलाक्षेत्रम सम्मान’ प्रदान गरिएको थियो।
अखिल लोककला कल्चरल अर्गनाइजेशनद्वारा आयोजित उक्त उत्सवमा भारतका विभिन्न राज्यका करिब ३,५०० कलाकारले भरतनाट्यम, कथकलगायत लोक तथा शास्त्रीय कलाका प्रस्तुति दिएका थिए। राजोपाध्यायले यसअघि पनि भारतका विभिन्न राज्यमा आयोजित सांस्कृतिक कार्यक्रमहरूमा सरोदवादन प्रस्तुत गरिसक्नुभएको छ। संगीत तथा कला क्षेत्रमा उहाँले पुर्याउनुभएको योगदानको कदरस्वरूप उहाँ सुरताल अन्तर्राष्ट्रिय सम्मान, ‘विविधता में एकता’ राष्ट्रिय सम्मान, इन्डियन बेस्टिज अवार्ड, संगीत मञ्जरी लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मानबाट सम्मानित भइसक्नुभएको छ।
