काठमाडौं । नेपाली आतिथ्य तथा खाद्य सेवा क्षेत्रमा मुगल तथा उत्तर भारतीय परिकारलाई व्यावसायिक ब्रान्डका रूपमा स्थापित गर्दै आएको हाँडी बिरयानीका सह–संस्थापक तथा जनसम्पर्क प्रमुख पोषण नेपाल अमेरिकी दूतावास नेपालको सहयोगमा सञ्चालित प्रतिष्ठित ‘उद्यमशीलता सीप विकास कार्यक्रम–क्यापस्टोन एक्सेलेरेटर’ का उत्कृष्ट २० उद्यमीमा छनोट भएका छन्।
देशभरबाट ८०० भन्दा बढी आवेदन परेको कार्यक्रममा सातै प्रदेशमा सञ्चालित क्षेत्रीय प्रशिक्षणपछि २०० भन्दा बढी उद्यमीमध्ये व्यावसायिक सम्भावना, नवप्रवर्तन, विस्तार क्षमता, प्रतिबद्धता र बजार सम्भावनाका आधारमा उत्कृष्ट २० उद्यमी छनोट गरिएको हो। काठमाडौंमा आयोजित तीनदिने आवासीय क्यापस्टोन एक्सेलेरेटरमा नेपालले हाँडी बिरयानीको ब्रान्ड विकास, डिजिटल बजार रणनीति, कृत्रिम बुद्धिमत्ता (एआई) आधारित ग्राहक पहुँच तथा फ्रेन्चाइज मोडलमार्फत नेपाल र अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने योजना प्रस्तुत गरेका थिए। हाँडी बिरयानीले परम्परागत मुगल तथा उत्तर भारतीय स्वादलाई आधुनिक र व्यवस्थित सेवा प्रणालीसँग जोड्दै विस्तारयोग्य खाद्य ब्रान्डका रूपमा विकास गर्ने लक्ष्य राखेको छ।
कम्पनीले मानकीकृत उत्पादन तथा सेवा प्रणाली, ग्राहक अनुभव र डिजिटल प्रविधिलाई आफ्नो विस्तार रणनीतिको मुख्य आधार बनाएको जनाएको छ। हाँडी बिरयानीको आगामी योजना फ्रेन्चाइज मोडलमार्फत देशका विभिन्न सहरमा विस्तार हुनुका साथै दीर्घकालीन रूपमा अन्तर्राष्ट्रिय बजारमा समेत प्रवेश गर्ने रहेको छ। डिजिटल बजार र एआई प्रविधिको प्रयोगमार्फत ग्राहकको रुचि पहिचान गर्ने, लक्षित प्रचार अभियान सञ्चालन गर्ने र ग्राहकसँगको सम्बन्ध बलियो बनाउने रणनीतिमा पनि कम्पनीले जोड दिएको छ।
क्यापस्टोन कार्यक्रममा नेपालले लगानीकर्ता, उद्योगी तथा उद्यमशीलता क्षेत्रका विज्ञसमक्ष हाँडी बिरयानीको व्यवसायिक यात्रा, ग्राहक अनुभव, डिजिटल रणनीति, फ्रेन्चाइज योजना तथा अन्तर्राष्ट्रिय विस्तारको सम्भावनाबारे प्रस्तुति दिएका थिए। “खाना राम्रो हुनु मात्र पर्याप्त हुँदैन, त्यसलाई बलियो प्रणाली, उत्कृष्ट ग्राहक अनुभव र विस्तारयोग्य व्यवसायिक मोडलसँग जोड्न पनि उत्तिकै आवश्यक हुन्छ,” नेपालले भने। “अब हाम्रो लक्ष्य हाँडी बिरयानीलाई नेपालभर विस्तार गर्दै अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउनु हो।” हाँडी बिरयानीका सह–संस्थापक नेपालले त्रिभुवन विश्वविद्यालयबाट व्यवसाय अध्ययनमा स्नातकोत्तर तथा अष्ट्रेलियाको University of Technology Sydney (UTS) बाट व्यावसायिक लेखांकनमा स्नातकोत्तर गरेका छन्।
नेपाल र अष्ट्रेलियामा हासिल गरेको व्यवसाय, वित्तीय व्यवस्थापन तथा व्यावसायिक अनुभवलाई उनले हाँडी बिरयानीको ब्रान्ड विकास, वित्तीय व्यवस्थापन, जनसम्पर्क र बजार विस्तारमा उपयोग गर्दै आएका छन्। क्यापस्टोन एक्सेलेरेटरमा सहभागी उत्कृष्ट २० उद्यमीले निर्यात तयारी, लगानी, एआई, डिजिटल बजार व्यवस्थापन तथा व्यवसाय विस्तारसम्बन्धी विशेष प्रशिक्षण र मार्गदर्शन प्राप्त गरेका थिए। कार्यक्रमको अन्तिम चरणमा सहभागी उद्यमीहरूले आफ्ना उत्पादन, सेवा तथा व्यवसाय विस्तारका योजनाहरू लगानीकर्ता, उद्योगी तथा विज्ञसमक्ष प्रस्तुत गरेका थिए।
हाँडी बिरयानीले समेत ‘क्यापस्टोन मेन स्ट्रीट शोकेस’ मा आफ्नो ब्रान्ड तथा सेवा अवधारणा प्रस्तुत गर्ने अवसर पाएको थियो। अमेरिकी दूतावास नेपालको सहयोगमा सञ्चालित उक्त कार्यक्रमले नेपालका सातै प्रदेशका उद्यमीलाई व्यावसायिक प्रशिक्षण, डिजिटल प्रविधि, वित्तीय साक्षरता, एआई, निर्यात तथा लगानी तयारी र व्यवसायिक सञ्जाल विस्तारका क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ। क्षेत्रीय कार्यक्रमपछि प्रतिस्पर्धात्मक छनोटबाट उत्कृष्ट २० मा परेका पोषण नेपालको छनोटलाई नेपाली खाद्य तथा आतिथ्य क्षेत्रबाट अन्तर्राष्ट्रिय बजारतर्फ अघि बढ्ने उद्यमशील प्रयासका रूपमा हेरिएको छ।
