काठमाडौं । पछिल्लो समय नेपालमा अरबियन तथा मिडल इस्टर्न फ्रेग्रेन्सप्रति उपभोक्ताको आकर्षण बढिरहेका बेला दुबईबाट चर्चामा आएको ‘जमजम पर्फ्युम्स’ नेपाली बजारमा औपचारिक रूपमा प्रवेश गरेको छ ।
जमजम पर्फ्युम्सले काठमाडौंको सुन्धारास्थित सिभिल मलमा आफ्नो पहिलो आधिकारिक आउटलेट सञ्चालनमा ल्याउने तयारी गरेको हो। यससँगै सामाजिक सञ्जालमार्फत चर्चामा रहेका जमजमको नामसँग जोडिएको यो फ्रेग्रेन्स ब्रान्ड नेपाली उपभोक्तामाझ प्रत्यक्ष रूपमा पुग्नेछ।
कम्पनीको नेपालसम्बन्धी आधिकारिक अनलाइन स्टोरसमेत सञ्चालनमा आइसकेको छ। त्यहाँ पुरुष, महिला र युनिसेक्स श्रेणीका विभिन्न फ्रेग्रेन्स उपलब्ध छन्।
जमजम पर्फ्युम्सको कथा भने सामाजिक सञ्जालमा चर्चित हुनुभन्दा धेरै पुरानो छ। कम्पनीको आधिकारिक विवरणअनुसार यसको यात्रा सन् १९९५ मा तीन जना संस्थापकले ट्रेडिङ कम्पनीका रूपमा सुरु गरेका थिए।
सुरुवाती चरणमा कम्पनीले बखुर उत्पादनबाट व्यवसाय अघि बढाएको थियो। सन् १९९६ मा ‘Bakhoor Al Mass’ सार्वजनिक गरेको कम्पनीले त्यसपछि विभिन्न सुगन्धित उत्पादन विस्तार गर्दै लगेको जनाएको छ। सन् २००२ देखि कम्पनीले खाडी मुलुकबाहिर समेत निर्यात सुरु गरेको र सन् २०२२ मा संयुक्त अरब इमिरेट्सको उम्म अल क्वैनमा नयाँ कारखानामा सरेको आधिकारिक विवरणमा उल्लेख छ।
कम्पनीले आफ्ना उत्पादनलाई व्यक्तिगत रूपमा प्रयोग गर्ने परफ्युमदेखि घरमा सुगन्ध फैलाउन प्रयोग हुने उत्पादनसम्म विस्तार गरेको छ। परम्परागत अरबियन सुगन्धको शैलीलाई आधुनिक फ्रेग्रेन्ससँग जोडेर उत्पादन तयार पार्ने कम्पनीको दाबी छ।
जमजम पर्फ्युम्सको पछिल्लो अन्तर्राष्ट्रिय विस्तारमा जमजमको सामाजिक सञ्जाल लोकप्रियताले पनि भूमिका खेलेको देखिन्छ।
कम्पनीको नेपाल वेबसाइटमै जमजमलाई सामाजिक सञ्जालमा चर्चित व्यक्तित्वका रूपमा प्रस्तुत गर्दै उनीहरूसँग जोडिएको फ्रेग्रेन्स ब्रान्डको विश्वव्यापी सुरुवातबारे उल्लेख गरिएको छ।
यसले गर्दा नेपालमा पनि ब्रान्डको प्रवेश केवल नयाँ परफ्युम स्टोर खुल्ने विषयमा सीमित नभई सामाजिक सञ्जालमा पहिल्यै चर्चित नामलाई नेपाली बजारसँग जोड्ने प्रयासका रूपमा हेरिएको छ।
नेपालका लागि सञ्चालनमा रहेको आधिकारिक अनलाइन स्टोरमा हाल दर्जनौं फ्रेग्रेन्स सूचीबद्ध छन्। पुरुष, महिला र युनिसेक्स गरी अलग–अलग श्रेणीमा उत्पादन राखिएको छ।
नेपालमा पछिल्लो समय अत्तर, ओउद, मस्क तथा अरबियन शैलीका फ्रेग्रेन्सको बजार विस्तार हुँदै गएको छ। विशेषगरी विदेशबाट फर्किने नेपालीले ल्याउने सुगन्धित उत्पादन, सामाजिक सञ्जालमा देखिने लक्जरी फ्रेग्रेन्स र उपहार संस्कृतिका कारण यस्तो बजारमा नयाँ ब्रान्डका लागि सम्भावना बढेको व्यवसायीहरूको बुझाइ छ।
यही बजारमा जमजम पर्फ्युम्सले आफ्नो पहिचान बनाउने प्रयास गरेको हो। आधिकारिक स्टोर सञ्चालनमा आएपछि नेपाली उपभोक्ताले विदेशबाट व्यक्तिगत रूपमा मगाउनुपर्ने अवस्थाको सट्टा ब्रान्डको उत्पादन नेपालमै प्रत्यक्ष खरिद गर्न सक्ने अपेक्षा गरिएको छ।
कम्पनीको मुख्यालय भने संयुक्त अरब इमिरेट्सको उम्म अल क्वैनमा रहेको छ। आधिकारिक वेबसाइटमा कम्पनीको ठेगाना र सम्पर्क विवरणसमेत सार्वजनिक गरिएको छ।
