इरानको इस्लामिक रिभोलुसनरी गार्ड्सले आफ्ना सबै माग पूरा नभएसम्म विश्वको प्रमुख ऊर्जा मार्ग हर्मुज फेरि नखोल्ने चेतावनी दिएको छ । इरानी पक्षले युद्धका क्रममा भएको क्षतिको क्षतिपूर्ति, प्रतिबन्ध हटाउने, विदेशमा रोक्का गरिएका सम्पत्ति फुकुवा गर्ने तथा इरान र उसका सहयोगीविरुद्धका सैन्य कारबाही अन्त्य गर्नुपर्ने माग अघि सारेको छ ।
इरानका सुरक्षा प्रमुख मोहम्मद बागेर जोलगाद्रले हर्मुज खोल्नुअघि पूरा गर्नुपर्ने मागहरूको सूची सार्वजनिक गर्नुभएको थियो । त्यसमा इरानसँगै लेबनान, प्यालेस्टाइन, यमन र इराकविरुद्धको युद्ध तथा आक्रमण अन्त्य गर्नुपर्ने मागसमेत समावेश छ । इरानी रिभोलुसनरी गार्ड्सले हर्मुज अहिले सामान्य जलमार्ग नभई ‘युद्धको मैदान’ बनेको बताउँदै शत्रु पक्षले सबै शर्त स्वीकार नगरेसम्म जलमार्ग बन्द राख्ने रणनीति रहेको जनाएको छ ।
यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले ओमानसँग हर्मुज जलडमरूमध्यमा यातायात र व्यवस्थापनसम्बन्धी छलफल अन्तिम चरणमा पुगेको बताउनुभएको छ । तर हर्मुज खोल्ने विषय अन्य शर्त तथा सम्झौता उल्लङ्घनबाट भएको क्षतिको क्षतिपूर्तिसँग जोडिएको उहाँको भनाइ छ ।
इरानले अमेरिकासँग प्रत्यक्ष वार्ता भइरहेको भने अस्वीकार गरेको छ । विदेशमन्त्री अराघचीका अनुसार दुवै पक्षबीच मध्यस्थकर्तामार्फत मात्र सन्देश आदानप्रदान भइरहेको छ ।
