काठमाडौं । गुँला पर्वको अवसरमा स्वयम्भू भगवान पाउ क्षेत्रको चैत्य परिसरमा सरसफाइ अभियान सम्पन्न भएको छ।
सेवा अभियानको आयोजनामा आइतबार बिहान आयोजित सरसफाइ कार्यक्रममा स्वयम्भू क्षेत्रको चैत्य तथा आसपासका स्थानमा सरसफाइ गरिएको हो। गुँला पर्वको धार्मिक तथा सांस्कृतिक महत्वलाई ध्यानमा राख्दै ऐतिहासिक तथा धार्मिक स्थलको स्वच्छता, संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ।
बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकास मन्त्री सैलेन्द्र बज्राचार्यको सहभागितामा उक्त सरसफाइ कार्यक्रम भएको थियो। कार्यक्रममा डल्लु साइकल पुचः का सदस्यहरूले पनि सहभागिता जनाउँदै स्वयम्भू क्षेत्रको सरसफाइ गरेका थिए।

गुँला पर्वका अवसरमा स्वयम्भू क्षेत्रमा भक्तजन तथा श्रद्धालुको चहलपहल बढ्ने भएकाले धार्मिक स्थलको सरसफाइ र संरक्षणलाई अभियानले विशेष प्राथमिकता दिएको आयोजकले जनाएको छ।
