विद्युत निर्यातका लागि नियामकीय र नीतिगत सुधारलाई एकसाथ अघि बढाउँछौँः उर्जामन्त्री श्रेष्ठ

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत व्यापार विस्तारका लागि नियामकीय तथा नीतिगत सुधारलाई समानान्तर रुपमा अगाडि बढाउने बताएका छन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आयोजना गरेको कार्यक्रममा उनले ऊर्जा व्यापार र लगानीसँग जोडिएका विषयलाई एउटै प्रक्रियामा सीमित नगरी समानान्तर रूपमा अघि बढाउनुपर्ने बताएका हुन्।

एउटा काम सकेपछि अर्को गर्छौं भन्ने ढाँचाले विद्युत क्षेत्रको विकासमा ढिलाइ हुने उनको भनाइ छ। ऊर्जा क्षेत्रका विकास तथा विस्तारको लागि सम्बन्धित निकायले आ–आफ्नो जिम्मेवारीअनुसार पूर्वतयारी र गृहकार्य अघि बढाउनुपर्ने उनको भनाइ छ।

उनका अनुसार नेपाल विद्युत नियमन आयोगले समेत आफ्नो जिम्मेवारीअन्तर्गत आवश्यक गृहकार्य अघि बढाइरहेको छ। उनले प्रशारण पूर्वाधारको प्रयोगसँग सम्बन्धित ह्विलिङ चार्जको विषयमा समेत काम भइरहेको जानकारी दिए।

विद्युत व्यापारका लागि उपलब्ध अवसर गुम्न नदिन तत्काल आवश्यक निर्णय र तयारी गर्ने उनको भनाइ छ।

उनले नेपाल–भारत विद्युत् व्यापार विस्तारसँगै नेपालको ऊर्जा क्षेत्रमा लगानीको दायरा बढ्ने र त्यसले मुलुकमा ठूलो आर्थिक सम्भावना सिर्जना गर्ने बताए।

उनले निजी क्षेत्रलाई समस्या मात्र उठाउने नभइ छलफलबाट समस्याको समाधान निकाल्न पनि आग्रह गरे।