मुगु – मुगुको खत्याड गाउँपालिका–११ स्थित बिरा खोलामा सडक निर्माणका क्रममा माथिबाट खसेको सुख्खा पहिरोमा परी एक्स्काभेटरसहित चालक पुरिएका छन्। घटनामा सहचालक घाइते भएका छन्।
मुगु–रारा भित्री सडकखण्डअन्तर्गत बेलिब्रिज पुल जोड्ने स्थानमा सडक खन्ने क्रममा सोमबार बिहान करिब ८:३० बजे एक्कासि पहिरो खसेको हो। पहिरोमा बा ३ क ३२७६ नम्बरको एक्स्काभेटर र त्यसका चालक २४ वर्षीय विमल बाग पुरिएको प्रहरीले जनाएको छ।
सह चालक सोरू गाउपालिका १ निवासी २२ वर्षीय विनय मल्ललाई भने माथिबाट खसेको ढुङ्गाले हात र खुट्टामा चोट लागेको छ। उनी बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।
पहिरोमा पुरिएका चालकको उद्धारका लागि इलाका प्रहरी कार्यालय रातापानी र प्रहरी चौकी माझचौरबाट १३ जना प्रहरीको टोली घटनास्थलमा खटिएको छ। प्रहरीले पहिरो पन्छाएर चालकको उद्धार गर्ने काम भइरहेको जनाएको छ।
