काठमाडौं । नेवा: देय् दबू काठमाडौं महानगरपालिका वडा नं. २५ समितिको आयोजनामा नेपाल संवत् ११४७ को अवसरमा क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
प्रदीप्त पुस्तकालयको सभाहलमा आयोजित कार्यक्रममा परम्पराभन्दा फरक शैली अपनाउँदै बालबालिकाको हातबाट क्यालेन्डर विमोचन गरिएको थियो। नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति, परम्परा र मौलिक पहिचानप्रति जिम्मेवार बनाउने उद्देश्यले लगातार दोस्रो वर्ष बालबालिकामार्फत क्यालेन्डर विमोचन गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा नेवा: देय् दबूका केन्द्रीय सचिव श्रीजनमान श्रेष्ठ, मिसा दबूकी रमिता बज्राचार्य, स्थानीय बौद्धिक व्यक्तित्व प्रबोध वीर सिंह तुलाधर, रोशन शाक्य तथा पूर्व वडा अध्यक्ष बाबुराजा महर्जनलगायतले नेपाल संवत्को ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक महत्वबारे विचार व्यक्त गर्दै शुभकामना दिएका थिए।
वक्ताहरूले नेपाल संवत् केवल समय गणना गर्ने संवत् मात्र नभई नेवाः समुदायको ऐतिहासिक पहिचान, मौलिकता र गौरवसँग जोडिएको राष्ट्रिय सम्पदा भएको उल्लेख गर्दै यसको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका थिए। साथै, पछिल्ला वर्षहरूमा चाडपर्व मनाउने मिति र दिनमा एकरूपता नदेखिएको विषय उठाउँदै यसलाई सुधार गरी एकरूपता कायम गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा नेवा: देय् दबूका सचिव एवं अभियन्ता श्रीजनमान श्रेष्ठले संस्कृतिको संरक्षण भाषणले मात्र नभई पुस्तान्तरणबाट सम्भव हुने बताउँदै आजका बालबालिका भोलिका संस्कृतिका संवाहक र समाजका नेतृत्वकर्ता भएको उल्लेख गरे। वरिष्ठ व्यक्तित्वबाट विमोचन गराउने परम्परालाई तोडेर बालबालिकाको हातबाट गरिएको विमोचन नयाँ पुस्तालाई सम्मान, जिम्मेवारी र नेतृत्व हस्तान्तरण गर्ने सांस्कृतिक सन्देश भएको उनको भनाइ थियो।
कार्यक्रममा समाजसेवी विमला मानन्धरले नेपाल संवत् र यसका प्रवर्तक शंखधर साख्वासम्बन्धी कविता वाचन गरेकी थिइन्। त्यस्तै, साहिना शाक्य र मिरिका उदासले श्रीकुमारी नृत्य प्रस्तुत गरेका थिए।
कार्यक्रमका सभाध्यक्ष मनोजमान कर्माचार्य रहेका थिए भने कमला मानन्धरले कार्यक्रम सञ्चालन गरेकी थिइन्।
बालबालिकालाई केवल सांस्कृतिक कार्यक्रममा सहभागी गराउने मात्र नभई भाषा, संस्कृति, परम्परा र सम्पदाको संरक्षण तथा पुस्तान्तरणको जिम्मेवारीसमेत प्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रमले नेपाल संवत् ११४७ को अवसरमा नयाँ पुस्तामा सांस्कृतिक चेतना र पहिचानप्रतिको अपनत्व अभिवृद्धि गर्ने सन्देश दिएको छ।
