उद्योग वाणिज्य महासंघको ५७ औँ वार्षिक साधारण सभा आजदेखि

देशभरका उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आज ५७ औँ वार्षिक साधारण सभा सुरु हुँदैछ । यस साधारणसभाले महास‌ंघको नयाँ नेतृत्व चयन गर्नेछ ।

महासंघको ६४ सदस्यीय नयाँ कार्यसमितिमध्ये दुई सदस्यमात्र निर्विरोध भएका छन् भने ११६ जना चुनावी मैदानमा छन्। उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि भोलि (बुधबार) हुने निर्वाचनमा दुई हजार मतदाताले भाग लिनेछन् ।

महासंघको विधानले निर्वाचित वरिष्ठ उपाध्यक्ष नै तीन वर्षपछि स्वतः अध्यक्ष हुने व्यवस्था गरेका कारण वरिष्ठ उपाध्यक्षको पदमा सबैको चासो रहने गरेको छ । वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघई प्रतिस्पर्धामा छन् । तीनैजनाले स्वदेशमा उद्यमशीलताको वातावारण बनाउनेदेखि आर्थिक मुद्दामा सरकारसँग बलियो लबिइङ गर्ने जनाएका छन् ।

वरिष्ठ उपाध्यक्षका तीनै उम्मेदवार आ-आफ्ना प्यानल बनाएर चुनावी प्रचारमा होमिएका छन् । जिल्ला नगरतर्फका १ उपाध्यक्षमा दिनेश श्रेष्ठ, अरुणराज सुमार्गी र सुरजकृष्ण वैद्य प्रतिस्पर्धामा छन् । त्यस्तै वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल, मनीषलाल प्रधान, सकुन्तलाल हिराचन प्रतिस्पर्धामा छन् ।

एसोसिएटतर्फ उपाध्यक्षमा भरतराज आचार्य र ज्योत्सना श्रेष्ठ मैदानमा छन् ।