बेलायतको पासाः पुच गुथिले बेलायतको समकालीन समाजमा नेवार विषयक सेमिनार आयोजना गरेको छ। सेमिनार लन्डनको SOAS विश्वविद्यालयको खलिली लेक्चर सेन्टरमा शनिबार भएको हो।
सेमिनारलाई कला तथा संस्कृति, भाषा तथा खाना, STEM र वित्त तथा उद्यमशीलता गरेर चार सत्रमा विभाजन गरिएको थियो। कार्यक्रमको मुख्य वक्ताको रूपमा नेपाल र नेवार समुदायको अध्ययनका विशेषज्ञ फ्रान्सेली सामाजिक मानवशास्त्री एवम् इन्डोलोजिस्ट प्रोफेसर जेरार्ड टोफिनले भाग लिनु भएको थियो।
गुथिका महासचिव लिसा दली श्रेष्ठको स्वागतबाट सुरु भएको कार्यक्रममा गुथिका अध्यक्ष रुक्मणी मानन्धरले स्वागत मन्तव्य तथा सेमिनारका संयोजक मधुसुदन कायस्थले सेमिनारको उद्देश्यबारे बताउनु भयो ।

पहिलो सत्र कला र संस्कृति गुथिका पूर्व अध्यक्ष संयुक्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने उक्त सत्रमा पत्रकार सुविना श्रेष्ठ, भिएफएक्स आर्टिस्ट सन्दीप तुलाधर र लेखक क्रिस्टीना चित्रकारले देवी फिल्म, एनिमेसनको महत्व तथा भर्खरै प्रकाशित फोटोबुक “नेपाल रिमेम्बर” लगायतका विषयमा प्रस्तुति दिनु भएको थियो ।

दोस्रो सत्र भाषा र खाना नेपाल र नेवाःमा व्यापक अनुसन्धानकर्ता एवम् गुथिका संरक्षक अक्सफोर्ड विश्वविद्यालय, सामाजिक मानवशास्त्रका प्रोफेसर डेभिड गेलनरको अध्यक्षतामा भएको थियो। वक्ताको रूपमा SOAS, लन्डन विश्वविद्यालयका पोस्ट-डक्टोरल फेलो डा अलेक्ज्याण्डर जेम्स ओनिल, UCL शिक्षा संस्थानका लेक्चरर, डा उमा प्रधान तथा कर्क विश्वविद्यालयका सहायक लेक्चरर मारिलेना फ्रिसोन हुनुहुन्थ्यो। उ
क्त सत्रमा प्रचलित लिपीका लागि हस्तलेखन पहिचान प्रविधि, नेपाल भाषाका विद्यालयमा भाषा शिक्षा र ज्ञान निर्माण, लण्डनमा नेवार खाना छोएलाको प्रसिद्धि जस्ता विषयहरू समेटिएका थिए ।
प्राध्यापक जेरार्ड टोफिनले परम्परागत र आधुनिक नेवार गुठी प्रणालीको आत्मा सम्बन्धी मुख्य भाषण प्रस्तुत गर्नु भएको थियो। नेपालको नेवाः गुठी, नेवार र उनीहरुको संस्कृतिको अध्ययनमा उल्लेखनीय योगदान पुर्याएकोमा प्रोफेसर टोफिनलाई सम्मान गरिएको थियो ।

तेस्रो सत्र, STEM को अध्यक्षता गुथिका पूर्व अध्यक्ष डा सचेतन तुलाधरले गर्नु भएको थियो। वक्ताहरूमा वरिष्ठ सफ्टवेयर इन्जिनियर दीपक श्रेष्ठ,, पशु चिकित्सक डा कृषा मानन्धर र क्लिनिकल निर्देशक एवम् दन्त विशेषज्ञ डा अनिल श्रेष्ठ हुनुहुन्थ्यो। उक्त सत्रमा ‘मेरो दृष्टिकोण परिवर्तन गर्ने’, ‘पशु चिकित्सकको रूपमा जीवन’ र ‘हार्ले स्ट्रिटलाई काठमाण्डौमा ल्याउने – नेपालमा दन्त चिकित्साको विकासमा २० वर्ष’ जस्ता विषयहरू समेटिएको थियो।

चौथो र अन्तिम सत्र, वित्त र उद्यमशीलता गुथिको बोर्ड अफ ट्रस्ट्रीका अध्यक्ष ओजेश सिंहको अध्यक्षतामा भएको थियो। वक्तामा मोर्टगेज एक्सपर्ट तथा व्यवसायी प्रजेश श्रेष्ठ, सस्टेनेबल फाइनान्स बार्कलेजका उपाध्यक्ष सुरज कर्माचार्य र उद्यमी सुशील प्रजापति हुनुहुन्थ्यो । सत्रमा ‘समुदायमा पुल निर्माण, दिगो वित्त र व्यक्तिगत सफलताका कथाहरू जस्ता विषयहरू समेटिएको थियो।
समापन मन्तव्य गुथिको बोर्ड अफ ट्रस्ट्रीका अध्यक्ष ओजेश सिंहले राख्नु भएको थियो। कार्यक्रममा 70 भन्दा धेरै सहभागीहरूले भाग लिएका थिए भने बेलायतबाट 12 जनाले विभिन्न विषयमा धारणा राख्नु भएको थियो।
