आज देशभर बदली, कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बङ्गालको खाडीको पश्चिम–मध्य भूभाग आसपास रहेको न्यून चापीय क्षेत्र आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

हाल बागमती प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाइएको छ।

त्यस्तै, आज राति कोशी प्रदेशका धेरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका केही स्थान तथा बागमती प्रदेशका पहाडी र तराई भूभागमा भारी वर्षा हुन सक्नेछ। कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

भारी वर्षाको सम्भावना रहेका कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता विपद्को जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।