साझाका बिजुली बसले नयाँ रुटमा सेवा थाल्दै, पाटनबाट जोरपाटी पुग्ने

ललितपुर – साझा यातायातले आजदेखि थप तीन वटा बिजुलीका बस सञ्चालन गर्ने भएको छ । दिउँसो साढे २ बजे पाटनढोकाबाट रत्नपार्क जोरपाटीका लागि बस छुट्ने साझा यातायातले जनाएको छ । यातायातले पाटनढोका–रत्नपार्क–ज्ञानेश्वर–रातोपुल–गौशाला–चाबहिल–बौद्ध–जोरपाटी–दक्षिणढोका रुटमा सोमबारदेखि ३ वटा बिजुली बस चलाउन लागेको हो ।

बसको शुभारम्भ ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गर्दै हुनुहुन्छ । यसअघि गएको असारदेखि साझाले तीन वटा बिजुलीका बस सञ्चालन गरिरहेको छ । साझाले ल्याएको ४० वटा बसमध्ये अहिलेसम्म तीन वटा बस सञ्चालन भइसकेको छ भने तीन वटा आजदेखि चल्ने छन् ।

एउटा बसको झन्डै डेढ करोड रुपैयाँ परेको साझाले जनाएको छ । बाँकी बसलाई पनि छिट्टै सञ्चालन गर्ने तयारी भएको साझा यातायातका महाप्रबन्धक महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार यी बसमा वाइफाइ, टीभी डिस्प्ले, सीसी क्यामेरा लगायतका विशेषता पनि छन् ।

अपाङ्गता भएकाहरु चढ्न मिल्ने र्‍याम्पसहितको सुविधा पनि छ । साझाले विद्युतीय बस खरिद गर्न २०७८ साल चैत १३ गते ग्लोबल टेन्डर आह्वान गरेको थियो ।