गायक, संगीतकार, एरेञ्जर जेम्स प्रधान अब निर्देशकको रुपमा अगाडी आएका छन् । काठमाडौँमा आयोजित एक समारोहमा उनले निर्देशन गरेको सर्ट फिल्म ‘सर्ट टर्म मेमोरी लस’ को प्रिमियर गरिएको थियो ।
उक्त सर्ट फिल्ममा समिसन जिसी र बेदना राईको अभिनय रहेको छ । यी दुईको खोला किनारमा हुने भेटले निम्तिने परिस्थितीलाई चित्रण गरिएको यस चलचित्र १९ मिनेटको रहेको छ । जसमा श्याम तामाङको छायांकन रहेको छ भने जेसिका प्रधानले सम्पादन गरेको छ ।
उक्त कार्यक्रममा गायक योगेश्वर अमात्य, सचिन रौनियार, प्रसन्नध्वज प्रधान, भिम तुलाधर, संगीतकार न्हू बज्राचार्य, निर्देशक सुव्रतराज आचार्य लगायतको उपस्थिति थियो। गायक प्रधानले आफू निकट भविष्यमा फिचर फिल्मको निर्देशक बन्न सक्ने संकेत समेत गरेका थिए।
इन्टरनेटको माध्यमले सिकेको सीपलाई प्रयोग गरेर निर्देशक बनेका जेम्स प्रधानको यो यो दोस्रो सर्ट फिल्म हो । ‘मैले विभिन्न भिडियो हेरेर निर्देशनका विविध पक्षमा आफ्नो क्षमतालाई प्रयोग गरिरहेको थिएँ । त्यहि क्रममा निर्देशनसँगै यसमा लेखक पनि बनेको हुँ’, जेम्सले जानकारी दिए ।
