कारेन शाक्यको ‘समाःया सँया झा’ म्यूजिक भिडियो सार्वजनिक

जापानमा रहनु भएका नेवार अभियन्ता सुनिल कुमार शाक्यकी छोरी कारेन शाक्यले गाउनु भएको नेपालभाषा गीत म्यूजिक भिडियोको रूपमा सार्वजनिक भएको छ । गत शुक्रबार कीर्तिपुरको ससःत्वाः रेष्टुरेन्टमा भएको कार्यक्रममा नेपालभाषाको ‘समाःया सँया झाः’ म्यूजिक भिडियो सार्वजनिक भएको हो ।

वरिष्ठ साहित्यकार प्रा. सुवर्ण शाक्यले ६६ बर्ष अगाडि लेख्नु भएको उक्त गीतलाई चर्चित संगीतकार न्ह्यूप बज्राचार्यले संगीत संयोजन गर्नु भएको हो । ललितपुरको ज्योति म्यूजिकले निर्माण गरेको उक्त म्यूजिक भिडियोको निर्देशन विश्वास वज्राचार्यले गर्नुभएको छ। कारेन शाक्यलाई गीत रेकर्डिङ्गका लागि चर्चित गायिका निशा देशारले प्रशिक्षण दिनुभएको थियो ।

बसन्त लयमा रहेको उक्त गीत जापानमा रहनु भएका कारेन शाक्यले नेपालभाषा सिकेर गाउनु भएको हो भने म्यूजिक भिडियोको सुटिङ्ग कीर्तिपुरको ससःत्वाः रेष्टुरेन्टको साथै चित्लाङ्गमा गरिएको हो । म्यूजिक भिडियो सार्वजनिकरण कार्यक्रममा केविएस प्रोडक्सनका कृष्णभक्त श्रेष्ठ र ज्योति म्यूजिकका तर्फबाट कलाकार संगीतकर्मी अमोघवीर बज्राचार्यले आ आफ्ना मन्तब्य राख्नु भएको थियो ।