काठमाण्डौं – वर्ल्ड नेवाः अंगनाइजेशन (डब्ल्यूएनओ) ले दोश्रो संस्करणको विश्व नेपालभाषा हाजिरी जवाफ प्रतियोगिता अन्तर्गत दोश्रो चरणको तालिका सार्वजनिक गरेको छ। सार्वजनिक भएको तालिका अनुसार दोश्रो चरणमा योमरी, लोन्चामरी, पाहाँमरी, लाखामरी, सिन्कामरी, पचिंतामरी, छुँचुमरी, अँयठामरी, अक्षतामरी, लवंतियांमरी, तिकिमरी, प्यारामरी, चतामरी, गुलिमरी, ग्वारामरी र मायमरी प्रवेश गरेका छन्।
भदाै ९ गतेदेखि असोज ६ गतेसम्म भएको पहिलो चरणको प्रतियोगिता २१ वटा समूहविच भएको थियो भने त्यहिंबाट उत्कृष्ट भएका १६ वटा टीम दोश्रो चरणमा प्रवेश गरेका हुन्।
पहिलो चरणको प्रतियोगिता भर्चुयल माध्यमबाट भएकोमा अबका खेलहरू भौतिक उपस्थितिमा हुने हाजिरी जवाफ प्रतियोगिताका संयोजक समन्तश्री बज्राचार्यले बताउनु भयो। हरेक खेलमा जित्ने टीमलाई ८० अमेरिकी डलर नगद पुरस्कार प्रदान गरिने घोषणाअनुसार पहिलो चरणमा पहिलो भएका प्रत्येक टीमलाई दोश्रो चरणको खेलको अवधिमा ८० अमेरिकी डलर नगद पुरस्कार प्रदान गरिने उहाँले बताउनु भयो।
यो पनिः दोश्रो संस्करणको विश्व नेपालभाषा हाजिरी जवाफ प्रतियोगिताको तालिका सार्वजनिक
दोश्रो चरणका स्पर्धाहरू असोज १३ देेखि कार्तिक ४ गतेसम्म हुनेछ। त्यस्तै दोश्रो चरणको प्रतियोगिताका विजेता र उपविजेता टीम तेश्रो चरणमा जानेछन् भने तेश्रो चरणको स्पर्धा कार्तिक ११ र १८ गते हुनेछ। तेश्रो चरणको स्पर्धाका विजेता र उपविजेता टीमविच अन्तिम प्रतियोगिता कार्तिक २५ गते हुनेछ।
अन्तिम प्रतियोगितामा पहिलो हुने टीमलाई १,००० अमेरिकी डलर, दोश्रो ८०० अमेरिकी डलर, तेश्रोलाई ६०० अमेरिकी डलर र सान्त्वनालाई ४०० अमेरिकी डलर पुरस्कार तथा हरेक चरणमा जित्ने टीमलाई ८० अमेरिकी डलर नगद पुरस्कार प्रदान गरिने डब्ल्यूएनओले जनाएको छ।

