काठमाण्डौं – वर्ल्ड नेवाः अंगनाइजेशन (डब्ल्यूएनओ) ले आयोजना गरेको दोश्रो संस्करणको विश्व नेपालभाषा हाजिरी जवाफ प्रतियोगिता अन्तर्गत दोश्रो चरणको पहिलो गेममा पहिलो र दोश्रो भएर ल्वंचामरि र यःमरी टीम तेश्रो चरणमा प्रवेश गरेका छन्।
गएको शनिबार चार वटा टीम यःमरि, ल्वंचामरि , लाखामरि र पाहांमरि टीमविच खेल भएको थियो भने ल्वंचामरि टीमले १३०, यःमरि टिमले ७०, लाखामरिले ५५ र पाहांमरिले ५० अंक ल्याएका थिए।
गेममा निर्णायकको भूमिका कवियत्री प्रतिसरा सायमि र निर्मलरत्न बज्राचार्यले निभाउनु भएको थियो।



पहिलो चरणको प्रतियोगिता भर्चुयल माध्यमबाट भएकोमा दोश्रो चरणदेखिका खेलहरू भौतिक उपस्थितिमा गरिने घोषणाअनुसार यो गेम ललितपुरको इतिटोलमा रहेको युवक बाैद्धमण्डल नेपालको प्राङ्गणमा भएको थियो।
गेम शुरूहुनु भन्दा अघि डब्ल्यूएनओ नेपाल च्याप्टरका अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ तथा कोषाध्यक्ष मंगलकृष्ण ताम्राकारले पहिलो चरणका विजेता टीमहरू यःमरि र ल्वंचामरिलाई ८०, ८० अमेरिकी डलर नगद पुरस्कारबराबरको चेक प्रदान गर्नु भएको थियो।


भदाै ९ गतेदेखि असोज ६ गतेसम्म भएको पहिलो चरणको प्रतियोगिता २१ वटा समूहविच भएको थियो भने त्यहिंबाट उत्कृष्ट भएका १६ वटा टीम दोश्रो चरणमा प्रवेश गरेका हुन्। तेश्रो चरणको खेल ८ वटा टीमविच हुनेछ।
हरेक खेलमा जित्ने टीमलाई ८० अमेरिकी डलर नगद पुरस्कार प्रदान गरिने घोषणाअनुसार पहिलो चरणमा पहिलो भएका प्रत्येक टीमलाई दोश्रो चरणको खेलको अवधिमा ८० अमेरिकी डलर नगद पुरस्कार प्रदान गरिने हाजिरी जवाफ प्रतियोगिताका संयोजक समन्तश्री बज्राचार्यले बताउनु भयो।
यो पनिः दोश्रो संस्करणको विश्व नेपालभाषा हाजिरी जवाफ प्रतियोगिताको तालिका सार्वजनिक
यो पनिः विश्व नेपालभाषा हाजिरी जवाफ प्रतियोगिताको दोश्रो चरणको तालिका सार्वजनिक
दोश्रो चरणका स्पर्धाहरू असोज १३ देेखि कार्तिक ४ गतेसम्म हुनेछ। त्यस्तै दोश्रो चरणको प्रतियोगिताका विजेता र उपविजेता टीम तेश्रो चरणमा जानेछन् भने तेश्रो चरणको स्पर्धा कार्तिक ११ र १८ गते हुनेछ। तेश्रो चरणको स्पर्धाका विजेता र उपविजेता टीमविच अन्तिम प्रतियोगिता कार्तिक २५ गते हुनेछ।
अन्तिम प्रतियोगितामा पहिलो हुने टीमलाई १,००० अमेरिकी डलर, दोश्रो ८०० अमेरिकी डलर, तेश्रोलाई ६०० अमेरिकी डलर र सान्त्वनालाई ४०० अमेरिकी डलर पुरस्कार तथा हरेक चरणमा जित्ने टीमलाई ८० अमेरिकी डलर नगद पुरस्कार प्रदान गरिने डब्ल्यूएनओले जनाएको छ।
