बझाङ भूकम्पः बिहानसम्म ४ रेक्टर स्केलमाथिका ११ वटा पराकम्प

काठमाण्डाै – बझाङका विभिन्न स्थानमा केन्द्रविन्दु भएर आज बिहानसम्म ११ पटक भूकम्पको धक्का महशुस भएको छ।

मङ्गलबार अपराह्न २:४० बजे बझाङको तालकोट केन्द्रविन्दू भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसपछि आज बिहानसम्म ११ वटा पराकम्प महशुस भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिनुभयो। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दोस्रोपटक ३:०६ बजे बझाङको जिल्ला सदरमुकाम चैनपुर भएर ६.३ रेक्टरस्केल, ३:१३ बजे चैनपुर केन्द्रविन्दु भएर ४.१ रेक्टरस्केल, ३:४५ बजे सुरमा केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।

यस्तै ४:२८ बजे तालकोट केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केल, ४:३१ बजे सुवेडा केन्द्रविन्दू भएर ४.३ रेक्टर स्केल, ५:१९ बजे सेली केन्द्रविन्दु भएर ५ रेक्टर स्केल र ५:३८ बजे दामेना केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ।

यसैगरी गएराति १२:१६ बजे दामेना केन्द्रविन्दू भएर ४.१ रेक्टर स्केल, १२:५० बजे तालकोट केन्द्रविन्दु भएर ४.३ र आज बिहान ५:४३ बजे चैनपुर केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको गएको छ।