जनगायक भृगुराम श्रेष्ठ र सदाबहार गायक योगेश वैद्यको सम्झनामा उहाँहरुको योगदानलाई कदर गर्दै संयुक्त शोकसभा आयोजना गरिएको छ। नेपालभाषा एकेडेमी, नेवाः देय् दबू, नेपालभाषा मंकाः खलः र नेपाल संवत न्हूदँ राष्ट्रिय समारोह समितिको संयुक्त आयोजनामा शनिबार काठमाण्डौंको नेपाः ब्यांक्वेटमा भएको शोक सभामा उहाँहरुको तस्विरमा पानस बत्ती बालेर खादा अर्पण गरेर संयुक्त रुपमा श्रद्धाञ्जली अर्पण गरिएको हो।
नेपालभाषा एकेडेमीका कुलपति यज्ञरत्न धाख्वाःले सभापतिको हैसियतले उहाँहरुको तस्विर अगाडि पानस बालेर शुभारम्भ गरिएको कार्यक्रममा कुलपति धाख्वाःसहित नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, न्हूदँ समारोह समितिका अध्यक्ष बौद्ध विद्वान प्रा. डा. नरेश मान बज्राचार्य, नेपालभाषा एकेडेमीका उप कुलपति एवमं अग्रज मल्ल के. सुन्दर, साहित्यकार आर. के. निर्मल, पत्रकार सुरेश किरण मानन्धरले नेपालभाषा आन्दोलनमा उहाँहरुले पुर्याउनु भएको योगदानके बारेमा प्रकाश पार्नु भएको छ ।
कार्यक्रममा भृगुराम श्रेष्ठ र योगेश वैद्यले गाएका गीतहरु गायक पवित्र कसाः र रीता महर्जनले गाउनु भएको थियो । नेवाः देय् दबुका उपाध्यक्ष उमेश स्थापितले सञ्चालन गर्नुभएको कार्यक्रममा जनगायक भृगुराम श्रेष्ठको बारेमा लेखिएको कविता जनकवि दुर्गालाल श्रेष्ठ र लोककवि राजभाइ जकःमिले वाचन गर्नु भएको थियो। कार्यक्रममा प्रा. डा. नरेश मान बज्राचार्य र विकास रत्न बज्राचार्यले संयुक्त रुपमा दिवंगतहरुको नाममा दुर्गति परिशोधन धारणी पनि पाठ गर्नुभएको थियो भने राजोपाध्याय समाजको तर्फबाट उहाँहरूको चीर शान्ति एवमं आत्ममोक्ष कामना गर्दै मन्त्र पाठ गरिएको थियो।
