भोलिदेखि देशभर सुरु हुन लागेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सबै आवश्यक प्रबन्ध मिलाएको छ।
यसपटकको परीक्षामा कूल ५ लाख १२ हजार ४२१ परीक्षार्थीहरू सम्मिलित हुँदैछन्, जसमा छात्राको सङ्ख्या छात्रको तुलनामा केही बढी रहेको छ।
परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन जापानको एक विद्यालयसहित कुल १ हजार ९६६ परीक्षा केन्द्रहरू तोकिएका छन्।
भोलि बिहान ठीक ८ बजेदेखि पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सुरु हुने कार्यतालिका रहेको छ।
परीक्षा सम्पन्न गर्नका लागि सुरक्षाकर्मी र कर्मचारी गरी करिब ७३ हजार जनशक्ति मैदानमा उत्रिने भएका छन्।
चैत २९ गतेसम्म चल्ने यस परीक्षामा विद्यार्थीहरूलाई मोबाइल फोन, स्मार्ट घडी वा अन्य कुनै पनि प्रकारका विद्युतीय उपकरणहरू लैजान पूर्ण रूपमा निषेध गरिएको छ।
नियम उल्लंघन गर्नेलाई कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ।
