झोछेंमा सडक भासिँदा घर जोखिममा, उद्धारमा स्थानीय र सुरक्षा निकाय

काठमाडौं । झोछें क्षेत्रमा निषेधित केहि दिन अघि हेभी लोड सवारीसाधन प्रवेश गर्दा जमिन भासिएर घरतर्फ ढल्किँदा स्थानीयवासी त्रसित बनेका छन्। बिहान करिब ४ बजे ढुङ्गा तथा ग्यास सिलिन्डर बोकेको भारी सवारी भित्री क्षेत्रमा प्रवेश गरेपछि सडक एकातर्फ भासिएको थियो।

झोछें सामुदायिक समाजका सह-कोषाध्यक्ष सुदन मानन्धरको घर तथा सँगै जोडिएको अर्को घरमा उक्त सवारी ढल्किँदा घरको पाइप, धाराको लाइन लगायत संरचनामा क्षति पुगेको थियो । सवारीको पाङ्ग्रा जमिनमा धसिएपछि बाटो पूर्ण रूपमा अवरुद्ध बनेको थियो भने केही समयसम्म घरभित्र आवतजावत समेत प्रभावित भएको थियो।

घटनापछि झोछें सामुदायिक समाजका अध्यक्ष बिरेन्द्र मल्लको नेतृत्वमा स्थानीयवासी तत्काल उद्धार तथा समन्वयमा जुटेका थिए। ट्राफिक प्रहरी, प्रहरी वृत्त जनसेवा, महानगर प्रहरी बल, नेपाली सेना, सशस्त्र प्रहरी बल तथा स्थानीय बासिन्दाको सक्रिय सहभागिताले ठूलो दुर्घटना हुनबाट जोगिएको बताइएको छ।

विशेष गरी महानगर प्रहरी बलले स्काभेटर लगायत आवश्यक उपकरण तत्काल व्यवस्थापन गरी सडक खुलाउन महत्वपूर्ण भूमिका खेलेको स्थानीयले बताएका छन्। नेपाली सेना शार्दुल जंग गुल्म गुरुजुको पल्टनको विपद् टोली तथा सशस्त्र प्रहरी बल १८ नं. गण समेत घटनास्थलमा खटिएको थियो।

त्यसैगरी, ट्राफिक प्रहरी र नेपाल प्रहरीले आफ्नो अधिकार प्रयोग गर्दै सम्बन्धित पक्षमाथि कारबाही प्रक्रिया अघि बढाएको जनाइएको छ। वडा नं. २३ का अध्यक्ष मचा राजा महर्जन ले गाडी चालक तथा निर्माण सामग्री ढुवानी गराउने ठेकेदारलाई जिम्मेवार बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।