काठमाडौँ — त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा आज नेपाल र यूएईबीच पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल हुँदैछ। नेपालको घरेलु मैदानमा पहिलोपटक ‘फ्लड लाइट’ अन्तर्गत हुन लागेको यो ऐतिहासिक खेलमा नेपाली टोलीको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गर्नेछन्। नियमित कप्तान रोहित पौडेलको अनुपस्थितिमा ऐरीले टोलीको कप्तानी सम्हाल्न लागेका हुन्। यसअघि विश्वकपको वार्मअप खेलमा क्यानडाविरुद्ध कप्तानी गरिसकेका ऐरीका लागि पूर्णरूपमा टी-२० टोलीको नेतृत्व गर्ने यो पहिलो अवसर हो।
नेपाल क्रिकेट संघ (क्यान) ले यस शृंखलाका लागि टोलीमा ठूलो फेरबदल गर्दै नयाँ प्रयोग गरेको छ। टोलीमा नियमित खेलाडीहरू रोहित पौडेल, आसिफ शेख, सोमपाल कामी, करण केसी र ललित राजवंशीलाई विश्राम दिइएको छ। उनीहरूको स्थानमा युवा खेलाडीहरूलाई मौका दिइएको छ। यता यूएईले पनि केही नयाँ खेलाडीहरूलाई टोलीमा समावेश गरेको छ, यद्यपि टोलीको कप्तानी मुहम्मद वासीमले नै गर्नेछन्।
टी-२० अन्तर्राष्ट्रियको हेड-टू-हेड इतिहासमा नेपाल र यूएई ११ पटक आमनेसामने भएका छन्। जसमा नेपालले ६ र यूएईले ५ खेल जितेका छन्। कीर्तिपुरमा यसअघि भएको एकमात्र खेलमा यूएई विजयी भएको थियो। साढे दुई वर्षपछि यी दुई टोली कीर्तिपुरमा आमनेसामने हुन लागेका हुन्। आज साँझ ५ बजेदेखि सुरु हुने यो खेल दुवै टोलीका लागि आफ्नो साख जोगाउने अवसर बनेको छ। नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरीसहित कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुलशन झा, लोकेश बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल रहेका छन्।
