काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा पुनः पानीको बहाव बढेपछि त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
चिनियाँ पक्षबाट प्राप्त सूचनाका आधारमा भोटेकोशी नदीमा पानीको बहाव बढिरहेको र बाढी रसुवाको स्याफ्रुबेँसीसम्म आइपुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यसको असर तल्लो तटीय क्षेत्रमा समेत पर्न सक्ने भएकाले त्रिशूली नदी आसपासका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको हो।
बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै त्रिशूली नदीको तटीय क्षेत्र हुँदै चितवनको मुग्लिनसम्मका बस्ती तथा नदी आसपासमा बसोबास गर्ने नागरिकलाई अर्को सूचना जारी नभएसम्म सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ।
यसअघि पनि भोटेकोशीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ हुँदै त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा जोखिम बढेको थियो। बाढी पूर्वानुमान महाशाखाले नदीको बहाव बढ्न सक्ने भएकाले नदी किनार, पुल तथा जोखिमयुक्त स्थानमा नजान सर्वसाधारणलाई आग्रह गर्दै आएको छ।
सम्भावित जोखिमबाट जोगिन स्थानीय प्रशासनको सूचना पालना गर्न, नदी किनार तथा तल्लो तटीय क्षेत्रबाट टाढा रहन र आवश्यक परे तत्काल सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ।
यसैबीच, विपद्सम्बन्धी सूचना प्राप्त गर्दा आधिकारिक स्रोतलाई आधार बनाउन र सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचना तथा हल्लाको पछि नलाग्नसमेत सम्बन्धित निकायले आग्रह गरेका छन्।
