बाह्र वर्षपछि इतुंबहा:मा प्रब्रज्याभिषेक सम्पन्न

काठमाडौँका विहारमा सबैभन्दा ठूलो र पुरानोमध्ये एक केशचन्द्रकृत पारावत् महाविहारमा ४० जनाको प्रब्रज्याभिषेक (बन्दे छुइगु) सम्पन्न भएको छ । हरेक बाह्र वर्षमा श्री भाष्करदेव संस्कारित केशचन्द्रकत पारावत् महाविहार संरक्षण समाजले प्रब्रज्याभिषेक कार्यक्रम सञ्चालन गर्दै आएको छ। पछिल्लो पटक २०६८ सालमा इतुंबहा:मा प्रब्रज्याभिषेकको आयोजना भएको थियो भने यसपाली समाजको आयोजनामा यस विहारमा फागुन १६ देखि २१ गतेसम्म प्रब्रज्याभिषेक कार्यक्रम सञ्चालन भएको हो।

उपत्यकाका महायानी बौद्ध विहारहरूमा जीवित रहेको परम्परामध्ये प्रब्रज्याभिषेक पनि एक हो । इतुंबहा:का कुलपुत्रहरुको बिहीबार पूर्णा बन्देछुयेगु (प्रब्रज्याभिषेक) गरिएको छ । यो प्रब्रज्याभिषेक शाक्य  र बज्राचार्य बीच हुने एक मुख्य परम्परा हो। यसमा प्रब्रज्याभिषेक भएका कुलपुत्रहरुलाई नगर परिक्रमा गराई कुलपुत्रहरुले चीवर धारण गरी, क्वापाःद्योको दर्शन गरी धर्मगण्डी बजाउने चलन रहिआएको छ। कूलपुत्रहरुले काःभुजं, गुुला बाजं नाय् बाजं, र पंयता बाजागाजाका नगर परिक्रमा पनि गरेका थिए ।

उक्त कार्यक्रम सुसम्पन्न गर्नका लागि उत्तम शाक्यको संयोजकत्वमा १३ सदस्यीय उपसमिति गठन गरिएको थियो । समितिमा चक्रेश्वर ओमरत्न बज्राचार्य, उपाध्याय सुरज बज्राचार्य, चचापा सुरेश बज्राचार्य तथा मूल स्थविर मणिरत्न शाक्यसहित ११ जना स्थविरहरु को सहभागिता थियो। समाजका अध्यक्ष प्रज्ञारत्न शाक्यले शाक्यकुलमा जन्म भएका पुत्रहरूले शाक्यमुनि गौतमबद्धको बुद्ध, धर्म र सङ्घको ज्ञान लिन चार दिनसम्म चीवर लगाएर गृहस्थी जीवन त्याग्न प्रब्रज्याभिषेक गर्नुपर्ने परम्परा रहेको बताउनुभयो ।

‘‘पहिलो दिन गत मङ्गलबार ग्वय्दाँ (सुपारी चढाउने) कार्यक्रम भएको थियो । ग्वय्दा प्रब्रज्याभिषेक गर्ने कूलपुत्रहरुबाट नियमपूर्वक वचन लिने परम्परा हो । कुलपुत्रहरुले सुपारी राखेर वचन लिने गर्दछ । साँझ ‘छ्वयलाभू’ कार्यक्रम सम्पन्न भयो । जसलाई विहारका स्थविरहरूले कूलपुत्रहरुको प्रब्रज्याभिषेक गर्ने पक्का भयो भन्ने सङ्केत गर्दछ ।,’’ उहाँले भन्नुभयो, ‘‘बुधबार दुस्वलपूजा गरियो । यो पूजामा सामेल भएपछि प्रब्रज्याभिषेक गर्ने कूलपत्रहरु शुद्ध भएर बस्नुपर्ने हुन्छ । नुनसमेत बार्नुपर्ने हुन्छ । चीवर चार दिन धारण गरी प्रब्रज्याभिषेक लिएका कुलपुत्रहरु पुनः गृहस्थी जीवनमा फर्कन्छन् ।’’